हेटौंडामा २३ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

काठमाण्डु टुडे २०७८ वैशाख १० गते १८:१२ मा प्रकाशित

हेटौडा, १० बैशाख– मकवानपुरमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार हेटौंडाका २२ बाहिर जिल्लाका एकसहित २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

हेटौंडामा ४१ जनाको स्वाबको नमुना परीक्षण गर्दा २३ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । योसँगै मकवानपुरमा संक्रमण पुष्टि हुनेको संख्या ४ हजार २१ जना पुगेको छ । यसैगरी कोरोना संक्रमणका कारण एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौडा उपमहानगरपालिका वडा नम्बर–४ भैरवरोड बस्ने ५० का पुरुषको रहेका छन् । उनको शुक्रबार बिहान मृत्यु भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत तथा कोभिड–१९ फोकल पर्सन भोलाप्रसाद चौलागाईंले जानकारी दिए मृतक ती पुरुषमा कोरोनासँगै क्षयरोग र उच्च कोलेष्टोलको समस्यासमेत रहेको चौलागाईले बताए ।

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा रहेका उनको घरमा नै मृत्यु भएको हो । मृतक गत बैशाख २ गते स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि हेटौंडा अस्पताल पुगेको र चेकजाँचका क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनी केही समय अघिमात्र स्वास्थ्यमा समस्या देखापरेपछि विदेशबाट बिरामी अवस्थामा नेपाल फर्केको जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us