माओवादी केन्द्रको विद्यार्थी संगठनमा जिम्मेवारी हेरफेर, संगठनका उपमहासचिवलाई प्रवक्ताको जिम्मेवारी

काठमाण्डु टुडे २०७८ वैशाख १० गते १०:३४ मा प्रकाशित

काठमाण्डु, १० बैशाख– नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । एमालेसँगको पार्टी एकता भंग भएपछि पहिलोपटक बसेको क्रान्तिकारीको केन्द्रीय समितिको विस्तारित बैठकले नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो ।

संगठनको गत १४ चैतमा बसेको बैठकले संगठन विस्तार तथा सुदृढिकरण अभियान सञ्चालन गर्ने कार्ययोजना समेत तय गरेको छ । अभियानको कार्ययोजना अन्तर्गत २० बैशाखसम्म प्रदेशस्तरीय प्रशिक्षण भेला तथा बैठक तथा अभियानको उद्घाटन गर्ने, बैसाख मसान्तसम्म जिल्लाका प्रशिक्षण तथा बैठक र ईकाई गठन, पुनर्गठनन तथा भेला सम्मेलन सम्पन्न गर्ने, १ जेठमा विद्यार्थी दिवसको अवसर पारेर सात वटै प्रदेशमा जनपरिचालनसहित विद्यार्थी प्रदर्शन सभा गर्ने र १५ जेठसम्म स्थानीय निकाय कमिटीहरुको सम्मेलन सम्पन्न गर्ने र क्याम्पस कमिटीहरुको भेला सम्मेलन सम्पन्न गर्ने राखिएको छ ।

क्रान्तिकारीले अभियानका लागि जिम्मेवारी समेत तोकेको छ । प्रदेश नं. १.मा तिलकराज भण्डारी, राजकुमार याक्सो र मदन भट्टराई, प्रदेश नं. २. मा दिपक देवकोटा, गजेन्द्र देव र सुर्यनारायण शाह, बागमती प्रदेशमा उत्तम अधिकारी,जीपी मैनाली र पवन कार्की, गण्डकी प्रदेशमा सुरेन्द्र वस्नेत, आशा तमु र क्षितिज सापकोटा, लुम्विनी प्रदेशमा इन्द्र भुसाल, मिलन एम.सी. र नारायण खनाल, कर्णाली प्रदेश, दिपेश पुन र अमरजङ शाही, सुदुरपश्चिम प्रदेशमा विजय गौतम, लक्ष्मी जोशी र मदन भुल र विश्वविद्यालय विशेष प्रदेशमा पञ्चा सिंह, तुकमान महरा र अच्युत भट्टलाई अभियान सञ्चालन गर्ने जिम्मेवारी क्रान्तिकारीले तोकेको छ ।

क्रान्तिकारीले संगठनको जिम्मेवारी समेत हेरफेर गरेको छ । नयाँ जिम्मेवारी अनुसार संगठनको प्रवक्ताको जिम्मेवारी जीपी मैनालीलाई दिएको छ । मैनाली संगठनका उपमहासचिव हुन् ।

अखिल क्रान्तिकारीको २०७४ भदौमा सम्पन्न राष्ट्रिय सम्मेलनबाट मैनाली उपमहासचिवमा निर्वाचित भएका थिए । २०६५ को स्ववियू निवार्चनमा काठमाडौं इन्जिनियरिङ कलेजबाट स्ववियू सभापतिमा निर्वाचित मैनाली संगठनको केन्द्रीय सचिवालय र केन्द्रीय सचिव समेत भएर काम गरेका थिए ।

त्यस्तै क्रान्तिकारीले संगठनबाट ३३ जनालाई बिदाइ गरेको छ भने १४ जनालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ । कारबाही गरिएकाहरू अधिकांश एमालेको विद्यार्थी संगठन अखिलमा लागेकाहरू छन् । यससँगै क्रान्तिकारीको केन्द्रीय समितिको संख्या २२८ कायम गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us