वन तथा वातावरण मन्त्रालयको सचिवमा डा. कँडेल

रासस २०७८ वैशाख ९ गते १४:३३ मा प्रकाशित

काठमाण्डु, ९ बैशाख–  नेपाल सरकारले वन तथा वातावरण मन्त्रालयको सचिवमा डा. पेमनारायण कँडेललाई सरुवा गरेपछि उहाँ आजदेखि मन्त्रालयमा हाजिर भएका छन् । मन्त्रालयका यसअघिका सचिव डा.विश्वनाथ ओलीले आफ्नो पदावधि पूरा गरी मङ्गलबार अवकाश पाएका थिए । सोमबारको मन्त्रिपरिषद् बैठकले डा.कँडेललाई वन मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको थियो ।

विसं २०४३ मा रेन्जरबाट सेवा प्रवेश गरेका डा कँडेल विसं २०५१ मा अधिकृत र विभिन्न जिल्लामा जिल्ला वन अधिकृतको अनुभव हासिल गरी विसं २०६६ मा सहसचिवमा पदोन्नति भएका थिए ।

तत्कालीन भूसंरक्षण विभागका महानिर्देशक, वन मन्त्रालयको योजना महाशाखा प्रमुखमा लामो समयको अनुभवपछि डा.कँडेलले राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिको सदस्यसचिवमा समेत जिम्मेवारी सम्हालिसकेका छन् ।

प्रदेश नं २ को प्रदेश वन सचिव र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशक भई सचिवमा पदोन्नति भएपछि यसअघि उहाँ कृषि तथा पशुपक्षी मन्त्रालयमा करिब साढे चार महिनादेखि कार्यरत रहेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us