प्रचण्डद्वारा सबै कम्युनिष्टलाई एकताबद्ध हुन अपिल

काठमाण्डु टुडे २०७८ वैशाख ९ गते ९:२७ मा प्रकाशित

काठमाण्डु, ९ वैशाख–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट घटकहरुलाई एकताबद्ध हुन अपिल गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा बिहीबार एक सन्देश जारी गर्दै प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनमा घोर प्रतिगामी प्रवृति देखापरेको भन्दै सम्पूर्ण राष्ट्रवादी, परिवर्तनकामी र अग्रगामी शक्तिहरुको एकतावद्ध पहलकदमीबाट प्रतिगमनलाई परास्त गर्न सकिने बताएका छन् ।

‘कम्युनिष्ट आन्दोलनमा चल्ने अन्तरसंघर्षले विभिन्न समयमा पार्टी भित्रका विकृति–विसंगतिलाई संघर्षको माध्यमद्वारा किनारा लगाउने गरेको छ । ती विकृति गैरकम्युनिष्ट पश्चगामी प्रवृतिका रुपमा मूलप्रवाहबाट बाहिरिने गरेका छन् । यसको पछिल्लो कडीका रुपमा घोर प्रतिगामी प्रवृति देखापरेको छ’, प्रचण्डले भनेका छन् ।

सम्पूर्ण राष्ट्रवादी, परिवर्तनकामी र अग्रगामी शक्तिहरुको एकतावद्ध पहलकदमीबाट प्रतिक्रियावादीहरुको प्रतिगामी कदमलाई परास्त गर्न सकिने विश्वास उनको छ । देशको आर्थिक विकास र समृद्धिका लागि र समाजवाद उन्मुख संविधानको रक्षा, परिमार्जन र कार्यान्वयनका निम्ति प्रतिगमनविरोधी शक्तिहरूको ऐक्यबद्धता अहिलेको ऐतिहासिक आवश्यकता भएको प्रचण्डको भनाइ छ ।

प्रचण्डले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरु र वामपन्थी प्रगतिशील शक्तिहरूलाई एकताबद्ध हुँदै प्रतिगमनका विरुद्धको अभियानमा लामबद्ध हुन अपिल पनि गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us