ओलीविरुद्ध सर्वोच्च गयो माधव समूह, अदालतले रिट दर्ता गरेन

काठमाण्डु टुडे २०७८ वैशाख ८ गते १८:१० मा प्रकाशित

काठमाण्डु, ८ वैशाख– एमालेको माधव नेपाल समूह अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीविरुद्ध अदालत गएको छ ।

नेताहरु नेपाल, भीम रावल र घनश्याम भुसालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सर्वोच्चमा रिट निवेदन दिएका  हुन् । राजनीतिक दलसम्बन्धी ऐनविपरीत आफूहरुलाई जबर्जस्ती पार्टीबाट निकालेको भन्दै न्यायका लागि नेपाल समूह अदालत गएको हो ।

ओलीले नेता नपाल, झलनाथ खनाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसालसहित २७ नेतालाई प्रतिनिधिसभा सदस्यबाट बर्खास्तीको योजनासहित मंगलबार स्पष्टीकरण सोधेका थिए । रिटमा अवैधानिक रुपमा नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय समिति खारेजी तथा आफूहरुविरुद्ध गरिएको भनिएको कारबाही पार्टी विधानविपरीत रहेको उल्लेख गरिएको छ । रिट पेश भए पनि दर्ता भने भएको छैन । सर्वोच्का सह–प्रवक्ता देवेन्द्र ढकालले रिट अध्ययनकै क्रममा रहेकाले दर्ता नभएको बताए । नेपाल समूहका कानूनी सल्लाहकार अधिवक्ता टीकाराम भट्टराईले समय अभाव भन्दै कर्मचारीले रिट दर्ता गर्न नमानेको बताए ।

रिटमा एमाले विधान र नवौं राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित केन्द्रीय कमिटिलाई पूर्ववत रूपमा कामकाज गर्न दिनू दिलाउनू भन्ने परमादेश जारी गर्न माग गरिएको छ । रिटमा २७ सांसदमाथि गर्न लागिएको कारबाहीलाई रोक्न आदेश माग गरिएको छ । ‘नेता, कार्यकर्ता र प्रतिनिधिसभा सदस्यलाई सोधिएको स्पष्टीकरण र प्रारम्भ गरिएको भनिएको कारबाही र संसदको सदस्यबाट निष्कासन गर्न प्रारम्भ गरिएको कारबाही समेत उत्प्रेषण, प्रतिषेधको आदेश द्वारा रोक्का गरिपाउँ’, रिटमा भनिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us