एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय

रासस २०७८ वैशाख ८ गते १६:१८ मा प्रकाशित

पाँचथर, ८ वैशाख– मिक्लाजुङ गाउँपालिका–२ सप्तमी बजारमा एनसेल टावर छेउमा फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।

मङ्गलबार साँझ सप्तमी बजारभन्दा माथि डाँडामा रहेको एनसेलको टावर छेउमा हरियो झोलाभित्र शङ्कास्पद वस्तु फेला परेपछि स्थानीयवासीले प्रहरीमा खबर गरेका थिए ।

आज बिहान सो स्थानमा पुगेको नेपाली सेनाको फिदिमस्थित रणशेर गणको टोलीले पुरानो सकेट बम निष्क्रिय पारेको प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए । खिया लागेको पुरानो सकेट बम त्रास फैलाउने उद्देश्यसहित राखिएको हुन सक्ने प्रनाउ थापाको भनाइ थियो ।

स्थानीयवासीले सकेट बमसँगै हस्तलिखित पर्चासमेत फेला पारेका छन् । ‘नेपाल कम्युनिष्ट पार्टी (विद्रोही समूह) लेखिएको पर्चामा प्रधानमन्त्रीविरुद्ध नारा लेखिनाका साथै मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौता खारेज गर्न तथा युवालाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न माग गरिएको छ । खिया लागेको पुरानो सकेट बम फेला पर्नाले सशस्त्र द्वन्द्वमा संलग्नबाट बम राखिएको हुन सक्ने स्थानीयवासीले आशङ्का गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us