सभामुख सापकोटाविरुद्धको मुद्दामा सुनुवाई हुँदै

काठमाण्डु टुडे २०७८ वैशाख ८ गते ११:०९ मा प्रकाशित

काठमाण्डु, ८ वैशाख– सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा प्रधानन्यायाधीश चालेन्द्रशमशेर राणा नेतृत्वको संवैधानिक इजलासमा आज सुनुवाई हुने भएको छ ।
आफूले भनेअनुसार संसदबाट एमसीसी सम्झौता अनुमोदन गर्न नसघाएको भन्दै प्रधानमन्त्री केपी ओलीले पदबाटै हटाउने चेतावनी दिइरहेका बेला सापकोटाविरुद्धको मुद्दामा सुनुवाइ हुन लागेको हो । प्रधानन्यायाधीश नेतृत्वको पाँच सदस्यीय इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन् । यसअघि उक्त मुद्धा हेर्न नभ्याइनेमा राखिएको थियो ।

सापकोटामाथि काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको आरोप छ । काभ्रेको दाप्चास्थित श्रीकृष्ण माविमा अभिभावक भेला भइरहेका बेला २०६२ साल वैशाख १६ गते तत्कालीन विद्रोही माओवादी कार्यकर्ताले लामालाई अपहरण गरेका थिए । लामालाई खाल्डो खन्न लगाएर त्यही खाल्डोमा जिउँदै पुरेर हत्या गरेको भन्दै लामा पत्नी पूर्णिमायाले २०६४ सालमा प्रहरीमा जाहेरी दिएकी थिइन् ।

प्रहरीले जाहेरी बुझ्न अस्वीकार गरेपछि लामा अदालत गइन् । सर्वोच्च अदालतले २०६४ फागुन २२ गते जाहेरी दर्ता गर्न प्रहरीका नाममा आदेश दिएको थियो । तर, तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारले मुद्धा दर्ता नगर्ने निर्णय गरेको थियो । सर्वोच्चले अर्को रिटमा सरकारको निर्णय खारेज गर्ने आन्तरिम आदेश दियो । मुद्दा हाल सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us