सकियो ओली–नेपाल सम्बन्ध 

काठमाण्डु टुडे २०७७ चैत १७ गते ९:२८ मा प्रकाशित

काठमाण्डु, १७ चैत– समयले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाललाई तत्कालका लागि नदीका दुई किनाराजस्तो बनाइदिएको छ । प्रधानमन्त्रीसमेत रहेका ओलीले नेपाललाई मंगलबार पार्टीबाट निलम्बन गरेपछि उनीहरुबीचको सम्बन्धमा थप दरारको स्थिति पैदा भएको छ ।

राजनीतिमा असम्भव भन्ने कुरा केही नभए पनि डेढ वर्षयता सम्बन्धमा तिक्तता आएपछि अध्यक्ष ओली नेता नेपाललाई पार्टी सदस्यताबाटै निलम्बन गर्ने तहसम्म पुगेका छन् । पार्टीका तर्फबाट स्पष्टीकरण सोधिएपछि नेता नेपालले ओलीसँग साढे चार दशकभन्दा लामो सम्बन्ध एकै रातमा नटुट्ने बताएका थिए । तर, ओलीले नेपालको त्यो भावुकतालाई बुझेनन्, बरु कारबाही प्रक्रिया अघि बढाए ।

झापा आन्दोलन हुँदै को–ओर्डिनेसन केन्द्रमा जोडिन आएका ओली र कोओर्डिनेसन केन्द्रबाटै पार्टी एकीकरण अभियान थालेका नेपालबीच करिब ४७ वर्ष लामो सम्बन्ध भए पनि ओली–नेपाल अब एकै ठाउँमा बस्न नसक्ने अवस्था पैदा भएको छ ।

मदन भण्डारीको मृत्युपछि कुनै बेला यी दुई नेता देशव्यापी कार्यक्रममा जाँदा एउटै जहाज र एउटै गाडीमा हिँड्दैनथे । उनीहरुमा पार्टीप्रतिको लगाव र माया भने यति धेरै थियो, कहिलेकाहीँ मनमुटाव भइहाले पनि चाँडै मिलिहाल्थे । तर, डेढ वर्ष अघि भदौदेखि सुरु भएको खटपटले अहिलेसम्म आइपुग्दा उनीहरुलाई करिबकरिब नदीका दुई किनारा बनाएको हो । नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us