ट्रम्पले भनेः सत्ता हस्तान्तरण गर्न तयार छु

काठमाण्डु टुडे २०७७ पुष २४ गते ९:३४ मा प्रकाशित

काठमाण्डु, २४ पुस– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जो बाइडनलाई शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न तयार रहेको घोषणा गरेका छन् ।

गत नोभेम्बरमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा ट्रम्प बाइडनसँग पराजित भएका थिए । अमेरिकी संविधानअनुसार उनको कार्यकाल २० जनवरीमा सकिँदैछ र सोही दिन बाइडनले शपथ लिनेछन् ।

आफ्ना अराजक समर्थकले अमेरिकी संसद् भवन क्यापिटल हिलमा गरेको हिंसात्मक प्रदर्शनको एक दिनपछि सामाजिक सञ्जाल ट्विटरमा एक भिडियो सन्देश जारी गर्दै ट्रम्पले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्ने घोषणा गरेका हुन् । ट्रम्पले उक्त हिंसात्मक प्रदर्शनको पनि निन्दा गरेका छन् ।

आक्रमणले अमेरिकी प्रजातन्त्रलाई दूषित बनाएको भनाइ ट्रम्पको छ । चार जनाको ज्यान जाने गरी भएको हिंसात्मक प्रदर्शनलाई उक्साएको आरोपमा ट्रम्पलाई कार्यकाल नसकिँदै बर्खास्त गरिनुपर्ने आवाज व्यापक रुपमा उठेको छ ।

ट्रम्पले राष्ट्रपति निर्वाचनमा धाँधली भएको भन्दै निर्वाचन परिणाम स्वीकार गरेका थिएनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us