रासायनिक मलमा कालोबजारी गर्ने दुई पक्राउ

काठमाण्डु टुडे २०७७ वैशाख २८ गते ८:५४ मा प्रकाशित

गोरखा, २८ वैशाख– जिल्लाको भीमसेन थापा गाउँपालिका–१ निवेलबाट रासायनिक मलमा कालोबजारी गरेको आरोपमा प्रहरीले शनिबार दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मल कालोबजारी गरेको आरोपमा हिमालयन गोरखा एग्रो फार्म प्रालिका सञ्चालकसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए ।

पक्राउ पर्नेमा फार्म सञ्चालक भक्तबहादुर श्रेष्ठ र फार्ममा काम गर्ने रेशम श्रेष्ठ रहेका छन् । मल बिक्रीको अनुमतिसमेत नभएको उक्त फार्मले किसानलाई प्रतिकिलो रु ३५ का दरले मल बिक्री गर्दै आएको प्रहरीले बताएको छ ।

सञ्चालक श्रेष्ठले फार्मको नामबाट मूल्यसूची टाँस नगरी अत्यधिक दरभाउ कायम गरी अनधिकृतरूपमा किसानलाई मल बेचेको भन्ने गुनासो आएपछि सदरमुकामबाट विशेष प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

प्रहरीले श्रेष्ठको फार्ममा रहेको ५३ बोरा रासायनिक मल भण्डारलाई समेत सिल गरी अनुसन्धान अघि बढाएको उनको भनाइ छ ।

पक्राउ परेका दुवै जनाविरुद्ध कालोबजारी ऐन, २०३२ अन्तर्गत कानूनी कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ । आफूहरु ठगिएको थाहा पाएपछि किसानले शुक्रबार दिनभर उक्त फार्ममा धर्नासमेत दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us