कोरोनाको आरडिटी परीक्षण तत्काल रोक्न माग

काठमाण्डु टुडे २०७७ वैशाख २६ गते १३:०६ मा प्रकाशित

काठमाण्डु, २६ वैशाख– मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी सम्वद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले कोरोना भाइरस संक्रमित पत्ता लगाउन सरकारले गर्दै आएको आरडीटी परीक्षण तत्काल बन्द गर्न माग गरेका छन् ।

गजुरेलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आरडिटी विधिबाट परीक्षण तत्काल रोकेर पीसीआर विधिबाट परीक्षण गर्न माग गरेका हुन् । गजुरेलले सरकारको कमजोरीका कारण नेपालमा कोरोना भाइरस तीव्र गतिमा फैलिएको र संक्रमण समुदायमा फैलन चरणमा पुगेको बताए । गजुरेलले परीक्षण, उपचार र स्वास्थ्य सामग्री खरिदमा भएको ढिलाइ क्षम्य नहुने बताए । ‘परीक्षण, ट्रेसिङका लागि आवश्यक सम्पूर्ण व्यवस्था गरी यसलाई तीव्रता दिइनु पर्दछ’, गजुरेलले भनेका छन्, ‘यसमा हुने ढिलाई क्षम्य हुन सक्दैन ।’

लकडाउनमा समेत भेदभाव भएको भन्दै उनले सबैलाई समान रुपमा लागू गर्न माग गरे । विज्ञप्तिमा  दैनिक श्रम गरेर बाँच्ने र तल्लो वर्गका जनता तथा बेरोजगारहरुको खाने र अन्य दैनिक समस्याको व्यवस्था अनिवार्य रुपमा गर्न माग गर्दै राहत वितरणमा
पक्षपात नगर्न सरकारको ध्यानाकर्षण गराइएको छ । फरक प्रसगमा उनले युद्धकालका मुद्दा सत्य निरुपण आयोग र बेपत्ता छानविन आयोगमार्फत टुंग्याउनुपर्नेमा जोड दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us