न्यायपालिकामा आँच आउन नदिन सचेत र गम्भीर छुः प्रधानन्यायाधीश जबरा

काठमाण्डु टुडे २०७७ वैशाख २६ गते १२:५० मा प्रकाशित

cholendra काठमाण्डु, २६ वैशाख– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितताका लागि सदा क्रियाशील रहने प्रतिबद्धता व्यक्ति गरेका छन् ।

जबराले न्यायिक इतिहासको अत्यन्त जटिल र कठिन परिस्थितिहरूमा पनि स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यतालाई अक्षुण्ण राख्दै विधिको शासन तथा नागरिकका हक अधिकारको संरक्षणका लागि न्यायपालिकाले महत्त्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गरेका छन् । उनले त्यसमा कहीँ कतैबाट कुनै किसिमको आँच आउन नदिन आफू सदैव सचेत, गम्भीर र संवेदनशील रहेको पनि स्पष्ट गरेका छन् ।

‘नेपालको संविधानले लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानूनी राज्यलगायतका मूल्य मान्यताहरूलाई संविधानको आधारभूत संरचनाको रूपमा स्थापित गरेको छ’, कानून दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै जबराले भनेका छन्, ‘सुशासन, विकास, समृद्धि र सामाजिक न्यायको परिकल्पना संविधानले गरेको छ । त्यसप्रति प्रतिबद्ध रहँदै सहज पहुँचयुक्त एवम् जनआस्थामा आधारित न्यायपद्दतिको स्थापना र विकास गर्न आजको यस विशेष दिनले सम्बन्धित सबैमा थप ऊर्जा र हौसला प्रदान गर्ने छ भन्ने विश्वाससमेत मैले लिएको छु ।’

सन्देशमा प्रधानन्यायाधीश जबराले कोरोना महामारीको प्रभाव न्याय क्षेत्रमा समेत परेको भन्दै त्यसलाई परिस्थितिको बाध्यताका रुपमा बुझिदिन आग्रह गरेका छन् ।
महामारीका समयमा न्यायसम्बन्धी छुट्टै विधिशास्त्रको विकास गर्नुपर्ने आवश्यकता महसुस भएको समेत उनले उल्लेख गरेका छन् ।

उनले स्वदेश तथा विदेशमा कोराना संक्रमित नेपालीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । औषधि पत्ता लागिनसकेको अवस्थामा सामाजिक दूरी कायम गर्नेलगायत स्थापित विधि र मापदण्डहरूको अवलम्बन तथा रोग प्रतिरोधी क्षमता अभिवृद्धिका लागि उच्च मनोबल, सकारात्मक सोच र आत्मसंयम नै यसको रोकथाम र नियन्त्रणको उपयुक्त विकल्प रहेको प्रधानन्यायाधीशले स्मरण गराएका छन् ।

 

हरेक वर्ष वैशाख २६ गते कानून दिवसका अवसरमा सर्वोच्च अदालतले औपचारिक समारोह गर्दै आएको थियो ।  तर, यसपटक कोरोनाका कारण औपचारिक कार्यक्रम आयोजना नगरिएको उनले स्पष्ट गरे ।

नेपाल प्रधान न्यायालय ऐन, २००८ विक्रम संवत् २००९ साल वैशाख २६ गतेबाट लागू भएको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ को दिनलाई कानून दिवसको रूपमा मनाइँदै आइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us