केपी ओलीसामु देउवाले सांसद अपहरणको प्रसंग झिकेपछि…

काठमाण्डु टुडे २०७७ वैशाख १२ गते १९:४८ मा प्रकाशित

काठमाण्डु, १२ वैशाख– काँग्रेस सभापति शेरबहादुर देउवाले सांसद अपहरणको आरोप लागेकाहरुमाथि कारबाही गर्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन् ।

शुक्रबार बालुटारमा ओलीसँगको भेटमा देउवाले समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरणमा संलग्न रहेको आरोप लागेका नेकपा सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ नेता पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालमाथि कारबाही माग गरेका हुन् ।

भेटपछि काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा देउवाले अपहरण प्रकरणबारे छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेको उल्लेख छ । ‘एक सांसदलाई अपहरण शैलीमा काठमाण्डु ल्याउन जो संलग्न छन् ।  तिनलाई कारबाही गर्नुपर्ने माग देशभरि उठेको छ’, देउवाको भनाइ उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, ‘मेरो माग यही छ । देशमा कानूनी राज्य छ भने निस्पक्ष अनुसन्धान र कारबाही हुनुपर्छ ।’

समाजवादी पार्टका संघीय परिषद अध्यक्ष एवं पूवंप्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो पार्टी विभाजनका लागि सांसद यादवको प्रधानन्त्रीको निर्देशनमा अपहरण भएको आरोप लगाएका थिए ।

बुधबार राति सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक खनालसँगै काठमाण्डु आएका सांसद यादव बिहीबार बिहानै समाजवादी पार्टीका कार्यकर्तासँग होटलबाट निस्किएर पार्टी नेतृत्वको सम्पर्कमा पुगेका थिए ।

भेटमा देउवाले सरकारले दुई विवादास्पद अध्यादेश फिर्ता लिएर गल्ती सच्याएकामा ओलीलाई धन्यवाद समेत दिएको पौडेलले बताएका छन् ।

मुलुक कोभिड–१९ महामारीविरुद्ध लडिरहेकाले अब विवादित काम नगर्न पनि देउवाले ओलीलाई सुझाव दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us