२ जना बालिकालाई बसभित्रै थुनेर बलात्कार

काठमाण्डु टुडे २०७६ भदौ ३० गते १३:५८ मा प्रकाशित


काठमाण्डु,३०भदौ– काठमाण्डुको मनमैंजुमा २ जना बालिकामाथि बसभित्रै बलात्कार भएको छ ।
तारकेश्वर नगरपालिका–१० मनमैंजु चोकमा घाइते अवस्थामा बालिका फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा बसैभित्रै २ जना बालिकामाथि बलात्कार भएको तथ्य खुलेको हो ।
प्रहरीका अनुसार मनमैंजु चोकमा एक बालिका घाइते अवस्थामा फेला परेकी थिइन् । महानगरीय प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरीले ११ वर्षीय बालिकाको उद्दार गरेर अस्पताल भर्ना गरेको थियो ।
अस्पतालमा स्वास्थ्य परीक्षणका क्रममा बालिकामाथि बलात्कार भएको खुल्न आयो । प्रहरीले बालिकासँगको सोधपुछका क्रममा बा ४ ख ८२ नम्बरको बसमा उनीसहित १ जना अर्की बालिकामाथि बलात्कार भएको खुलेको हो ।
प्रहरीले बालिकामाथि बलात्कारको अभियोगमा बसका सहचालक ३६ वर्षीय एल्जित राईलाई सोमबार पक्राउ गरेको छ ।
प्रहरीका अनुसार एल्जितले ११ वर्षीया बालिकामाथि बलात्कार गरेको मेडिकल परीक्षणबाट पुष्टि भइसकेको छ । उनले ११ वर्षीया बालिकाकी साथी अर्की १० वर्षीया बालिकामाथि पनि यौन दुर्व्यवहार गरेको देखिएको महानगरीय प्रहरी परिसर काठमाण्डु स्रोतले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us