समृद्धिको सपना यही सरकारले पूरा गर्छः प्रधानमन्त्री

काठमाण्डु टुडे २०७५ माघ १९ गते २१:३५ मा प्रकाशित

काठमाण्डु, १९ माघ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले देखेको समृद्धिको सपना यही सरकारले पूरा गर्ने बताएका छन् ।

सदरमुकाम सिरहामा शनिबार आयोजित शहीद हेमनारायण यादवको १५ औँ स्मृतिसभालाई सम्बोधन गर्दै उनले भने, ‘गरीबी र बेरोजगारी अन्त्य गरी मुलुकलाई समृद्ध बनाउने योजनाका साथ हामी अघि बढेका छौँ, तपाईंहरु धैर्य गर्नुस्, तपाईंहरुको समृद्धिको सपना यही सरकारले पूरा गर्छ ।’

प्रधानमन्त्री ओलीले व्यवहारिकरुपमा मुलुकको गरीबी र बेरोजगारी हटाउन सरकार दृढताका साथ अघि बढेको उल्लेख गर्दै बेरोजगार युवालाई स्वरोजगार बनाउन प्रधानमन्त्री स्वरोजगार योजनाअन्तर्गत प्रत्येक स्थानीय तहमा स्वरोजगार अधिकारी नियुक्ति गर्नेजस्ता कार्य अघि बढाइसकेको जानकारी दिए । उनले प्रदेश नं २ मा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, पूर्व–पश्चिम रेल्वे, दु्रतमार्ग निर्माण, औद्योगिकग्राम स्थापना, धार्मिकस्थलको संरक्षण र विकास, मेडिकल कलेज र विश्वविद्यालयको स्थापना, सिँचाइका पूर्वाधारको विकास, कल कारखानाको स्थापनालगायतका विकास निर्माणका योजना विस्तारको गृहकार्य सरकारले अगाडि बढाएको छ ।

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले युवालाई वैदेशिक रोजगारीमा जान रोक्नका लागि आवश्यक रोजगारीका अवसर सिर्जना गरिने बताउँदै प्रदेश नं २ अन्य प्रदेशको तुलनामा सम्भावना बोकेको प्रदेश भएकाले समाज परिवर्तनका लागि अब विलम्ब गर्न नहुने धारणा व्यक्त गरे ।  ‘तराई–मधेश भएर बग्ने ठूलठूला नदी जस्तै कोशी–कमला डाइभर्सनलगायतका सिँचाइका आयोजना कार्यान्वयनतर्फ अग्रसर हुनु आवश्यक छ’, उनले भने, ‘मधेशको उर्वरभूमिको सही सदुपयोग गर्न सक्नुपर्दछ, सहकारिताका माध्यमबाट यहाँ उत्पादन हुने अन्न, फलफूल विदेशमा निर्यात गर्न सकिए छिट्टै समृद्धि सम्भव छ ।’

प्रधानमन्त्री ओलीले भने, ‘जनताले नेतृत्वका लागि जनमत दिएर आफूहरुलाई पठाएको हो, अब हाम्रो मुख्य काम भनेकै जनताको सेवा गर्नु हो, त्यसप्रति हामी पूर्णरुपमा प्रतिबद्ध छौँ ।’ अब कुनै पनि बालबालिका विद्यालयभन्दा बाहिर नरहोस् भन्ने उद्देश्यले सरकारबाट विद्यालय भर्ना अभियान सञ्चालन गरिएको बताउँदै उनले यसलाई सफल बनाउन अभिभावकसँग आग्रहसमेत गरे ।  भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठले प्रदेश नं २ अर्थात् मधेशमा सडक, खानेपानी, स्वास्थ्य, शिक्षालगायत सबै कुरा समेटेर विशेष प्याकेज ल्याइएको स्पष्ट पार्दै मधेशकै लाइफ लाइनका रुपमा रहेको हुलाकी राजमार्गको स्तरोन्नतिको काम तीव्ररुपमा भइरहेको जानकारी दिए ।

हुलाकी सडकअन्तर्गत कमला र बलान नदीमा निर्माणाधीन पुल निर्माणको ठेक्का पप्पु कन्ट्रक्सनसँग तोडेर एक वर्षभित्र निर्माण सकिनेगरी लुम्बिनी बिल्र्डस र शर्मा कन्ट्रक्सनलाई दिइएको बताउँदै उनले मधेशका जिल्लाको सदरमुकाम जोड्ने सडक चार लेनको स्तरोन्नतिका लागि डिपिआर बनाउने कार्य तीव्ररुपमा अघि बढेको बताए ।  मन्त्री महासेठले सिरहामा मात्रै २५ वटा सडक बनाउने कार्य अघि बढाइएको पनि जानकारी दिए ।

नेकपा प्रदेश नं २ का इञ्चार्ज सत्यनारायण मण्डल, सहइञ्चार्ज विश्वनाथ साह, प्रदेश अध्यक्ष प्रभु साह, प्रदेश सचिव सुमनराज प्याकुरेल, पूर्वमन्त्री अजयशङ्कर नायकले प्रदेश नं २ को विकास र समृद्धिका लागि सबैको सहयोग, समन्वय र सहकार्य आवश्यक भएको धारणा व्यक्त गरे । सो अवसरमा प्रधानमन्त्री ओलीले नेकपालाई विभिन्न समयमा सहयोग गर्ने र पार्टी सङ्गठन बिस्तारमा योगदान दिने सिरहाका बलबहादुर सुनुवार, शनिश्चर सदा, इन्द्रलाल लामा, सप्तरीका अरुण साह लगायतलाई दोसल्ला ओढाएर सम्मान गरे ।

त्यस्तै कार्यक्रममा सङ्घीय समाजवादी फोरम, राजपा, नेपाली काङ्ग्रेसलगायत विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्नेलाई प्रधानमन्त्री ओलीले अबिर माला लगाएर स्वागत गर्दै पार्टीमा प्रवेश गराए । यसअघि शनिबारै प्रधानमन्त्री ओलीले सिरहा सदरमुकाममै नेकपाको पार्टी कार्यालय र चन्द्र मावि परिसरभित्र छात्रबासको समेत शिलान्यास गरे ।

त्यस्तै प्रधानमन्त्री ओलीले सिरहास्थित शहीद हेमनारायण चोकमा रहेको हेमनारायण यादवको शालिकमा माल्यार्पणसमेत गरे । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us