साथीको हत्या गरेको आरोपमा भारतीय नागरिक पक्राउ

काठमाण्डु टुडे २०७२ भदौ १८ गते १६:३८ मा प्रकाशित

pakrau
काठमाण्डु, १८ भदौ-साथीको हत्यामा संलग्न भएको आरोपमा एक भारतीय नागरिकलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

 

बिहीबार राति बौद्ध टुसालस्थित बिएम फर्निचरमा मृत अवस्थामा फेला परेका भारत मोतिहारी घर भएका २० वर्षीय मन्टु शर्माको हत्याको आरोपमा भारतको सोही ठाउँमा घर भई काठमाण्डु बस्दै आएका २२ वर्षीय रञ्जित शर्मालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

 

बिहीबार राति खाना खाइसकेपछि मृतक र आरोपित सँगै सुतेकामा मन्टु निदाएको अवस्थामा रञ्जितले राति धारिलो हतियार प्रयोग गरी हत्या गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

 

आरोपित रञ्जितकी प्रेमिका रहेकी एक महिलालाई मृतक मन्टुले मनपराउने बताउँदै रञ्जितलाई ती महिलाको साथ छोडिदिन मन्टुले धम्की दिएपछि आफूले रिसको झोकमा हत्या गरेको बयान प्रहरीलाई दिएका छन् ।

 

आरोपित रञ्जित र मृतक मन्टु सानैदेखिका साथी र नाताले हजुरबुबा र नाति पर्ने अनुसन्धानका क्रममा खुलेको छ । मन्टुको बुबाले सञ्चालन गर्ने गरेको फर्निचरमा रञ्जित कालीगढका रुपमा काम गर्ने गरेका थिए ।

 

आरोपित शर्मालाई महाशाखाको टोलीले पक्राउ गरी थप कानुनी कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, बौद्ध पठाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us