दामोदरकुण्ड जाने भक्तजनका लागि यस्तो सुविधा

काठमाण्डु टुडे २०७२ भदौ १८ गते १३:०८ मा प्रकाशित

damodarkunda

मुस्ताङ, १८ भदौ-मुस्ताङको प्रसिद्ध धार्मिकस्थल दामोदरकुण्डमा स्नान र दर्शनका लागि जाने भक्तजनको सुविधाका लागि आवासगृह निर्माण गरिएको छ ।

 

जिल्ला विकास समितिको पहलमा पर्यटन बोर्डको करिब २० लाखको लागतमा सुर्खाङ गाविसको सुर्खाङ गाउँभन्दा केही माथि अस्थायी आवास गृह निर्माण गरिएको हो ।

 

जिल्ला सदरमुकाम जोमसोमदेखि तीनदिनको पैदलदूरीमा रहेको दामोदरकुण्डको बाटोमा अस्याथी आवासगृह नहुँदा त्यहाँ जाने भक्तजन ओडार र खुला चौरमा बास बस्नुपर्ने अवस्था विद्यमान थियो ।

 

हरेक सिजनको असारदेखि असोज महिनासम्म नेपाली र भारतीय भक्तजन दामोदरकुण्डमा स्नानका लागि पुग्ने गरेका छन् । दामोदरकुण्डमा स्नान गरे आफ्नो भित्री मनोकांक्षा पूरा हुने जनविश्वास छ ।

 

दामोदरकुण्ड जाँदा सुर्खाङ गाउँदेखि माथि कुनै पनि बस्ती नहुँदा बीचमा खानुपर्ने र लगाउनुपर्ने सम्पूर्ण सामग्री भक्तजनले नै व्यवस्था गरी लैजानुपर्छ । लामो समयदेखि बीचभागमा आवास गृह निर्माणको माग आएकाले जिविसले अस्याथी टहरा बनाएको जिविस मुस्ताङका कार्यक्रम अधिकृत केदारसिंह थापाले जानकारी दिए । उनका अनुसार, स्थानीयवासीले दामोदरकुण्डसम्म जान व्यवस्थित पदमार्ग निर्माणको माग पनि अघि सारेका छन् ।

 

‘पर्यटन बोर्डले हामीलाई दामोदरकुण्ड, हिडन भ्यालीमा समेत आवास गृह निर्माण गर्न एक करोड बजेट पठाएको थियो, त्यसमध्ये २० लाखले हामीले काम गरेका हौँ’ कार्यक्रम अधिकृत थापाले भने । जोमसोमबाट पहिलो दिन सुर्खाङ गाउँ, दोस्रो दिन सुर्खाङकै कोवेथाँती र तेस्रो दिन दामोदरकुण्ड पुग्न सकिन्छ । कुण्डमा स्नानका लागि जाने भक्तजन नेपालीभन्दा भारतीय बढी हुन्छन् । उनीहरु उत्तराखण्ड, हिमाञ्चल, विहारलगायतका राज्यबाट आउने गरेको बताइएको छ ।

 

जिविसले मुक्तिनाथ र दोमादरकुण्डलाई एकीकृतरुपमा विकास गर्ने योजना अघि सारेको छ । आवास गृह निर्माण पछि भक्तजनलाई ठूलो राहत पुग्ने अनुमान गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us