वार्ता र सरकारी दमन एकसाथ हुँदैनः यादव

काठमाण्डु टुडे २०७२ भदौ १६ गते १७:०१ मा प्रकाशित

upendra yadav
काठमाण्डु, १६ भदौ– संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकारले वार्ता बोलाउने र जनतालाई प्रहरी लगाएर दमन गर्ने एक साथ गरेको भन्दै आपत्ति जनाएका छन् ।

बुधबार पत्रकार सम्मेलन गरेर अध्यक्ष यादवले सीमांकनको विरोधमा भइरहेको आन्दोलन उत्कर्षमा पुग्न लागेका बेला सरकारले वार्ता बोलाएर नौटंकी गरेको आरोप लगाए ।

लाठी प्रहार गर्दा गर्दै वार्ता गर्न नसकिने भन्दै अध्यक्ष यादवले तराईमा भइरहेको आन्दोलनको अनुगमन गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रहसमेत गरे ।

‘सरकार जातीय नरसंहारतर्फ अघि बढ्दै छ ।’ यादवले भने, ‘सरकारले मानवता विरुद्धको अपराध गरेको छ, अन्तर्राष्ट्रिय समुदायले निगरानी गर्नुपर्यो ।’

उनले प्रमुख दलको दुइ तिहाइको दम्भलाई आफूहरुले सञ्चालन गरेको आन्दोलनले निस्तेज पारीसेको दावीसमेत गरे ।

उनले यो आन्दोलन मधेसको मात्र नभएर लिम्बुवान, शेर्पा, थरुहटलगायतका क्षेत्रमा बिस्तार भइसकेको बताए ।

‘दमन गरेर अघि बढ्न खोज्दा जस्तै तानाशाह पनि ढल्छ ।’ अध्यक्ष यादवले भने, ‘अब यो जनआन्दोलनको जनादेशबाट संविधान बन्छ ।’

उनले काठमाण्डुमा निषेधाज्ञा तोड्दा पानीको फोहोरा प्रहार गरेपनि तराईको आन्दोलनमा निषेधाज्ञा तोड्दा गोली प्रहार गरेको भन्दै सरकार नश्लवादी र जातिवादी भएको आरोप लगाए ।

यादवले जुम्ला र सुर्खेतमा भएको आन्दोलनको माग पूरा गर्ने सरकारले तराईका थारुले अधिकार माग्दा सेना परिचालन गरेर दमन गरेको सरकार नै साम्प्रदायिक बनेको दावी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us