विद्यार्थी आकर्षण बढाउन अंग्रेजीमा पढाइ

काठमाण्डु टुडे २०७२ भदौ १६ गते १३:३२ मा प्रकाशित

School
कञ्चनपुर, १६ भदौ – कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–७ मा रहेको शान्ति प्राथमिक विद्यालयले विद्यार्थीलाई आकर्षित गर्नका लागि अंग्रेजी माध्यममा पढाइ सुरु गरेको छ ।

विद्यार्थीको संख्या घट्दै गएपछि अभिभावकको प्रयासमा विद्यालयमा निःशुल्क अंग्रेजी माध्यममा पढाइ सुरु गरेको हो ।

‘निर्धारित पाठ्यक्रमअनुसार विद्यालयमा निःशुल्क अंग्रेजी माध्यममा पढाइ सुरु गरेका छौं ।’ विद्यालयका प्रधानाध्यापक वासुदेव भट्टले भने ।

विद्यालयमा पठनपाठनको कार्य गुणस्तरयुक्त रुपमा भए नभएको बारे व्यवस्थापन समितिले निरन्तर अनुगमन गर्ने भएकाले विद्यालयमा विद्यार्थीको संख्या दोब्बरले थपिएको छ ।

गत शैक्षिक सत्रमा विद्यालयमा ६० जना बालबालिका मात्रै भर्ना भएकोमा चालु शैक्षिक सत्रमा विद्यालयमा १३६ जना विद्यार्थी थपिएका छन् ।

‘अभिभावकबाट दुई लाख रुपैयाँ भन्दा बढी चन्दा संकलन गरी कक्षाकोठा मर्मत, फर्निचर र शैक्षिक सामग्रीको व्यवस्था गरी अंग्रेजी माध्यममा पढाइ सुरु गरेपछि निजी विद्यालयमा पठनपाठन गर्दै आएका बालबालिकालाई अभिभावकले विद्यालयमा भर्ना गर्न ल्याएका छन् ।’, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवानीसिंह ऐरले भने ।

‘विद्यालयमा पठनपाठनको कार्य सन्तोषजनक नभएपछि विगतमा अभिभावकले विद्यार्थीलाई निजी विद्यालयमा लगेर भर्ना गर्दै आएका थिए ।’ अध्यक्ष ऐरले भने, ‘विद्यालयको शैक्षिक गुणस्तरमा सुधार गरेपछि बालबालिका पुनः विद्यालयमा फर्किएका छन् ।’

कक्षा ५ सम्म पठनपाठन भइरहेको विद्यालयमा स्थानीय तीन, राहत दरबन्दीका एक र निजी स्रोतमा एक जना गरी पाँच जना शिक्षक कार्यरत रहेका छन् ।

विद्यालय विसं २०४८ मा स्थानीय बासिन्दाको सक्रियतामा स्थापना भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us