आमह्डताल घोषणा गरिएपनि झापामा भने शान्ति

काठमाण्डु टुडे २०७२ भदौ १५ गते १३:१९ मा प्रकाशित

Jhapa
भद्रपुर, १५ भदौ-मुलुकमा नयाँ संविधान जारी हुने समय नजिकिँदै जाँदा तराईका केही भू–भागमा हिंसात्मक घटना देखिएपनि झापामा सम्पूर्ण राजनीतिक दलहरुबीच धार्मिक, साम्प्रदायिक, सामाजिक सद्भाव, मेलमिलाप, शान्ति र सहिष्णुता कायम रहेको पाइएको छ ।

 

राजनीतिक दलहरुले आफ्ना मागलाई सम्बोधन गराउन शान्तिपूर्ण ढङ्गले अहिंसात्मक क्रियाकलापबाट अघि वढ्नुपर्ने मान्यतालाई सङ्घीय लिम्बुवान पार्टीले कायम राखेकोमा झापाका राजनीतिक दल, नागरिक समाज, विद्यार्थी, सर्वसाधारण, खेलाडी र राष्ट्रसेवक कर्मचारी एवम् सुरक्षा निकाय सन्तुष्ट देखिएका छन् ।

 

सभ्यता र सहिष्णुताकै कारण पूर्वी नेपालका नौ जिल्ला लिम्बुवान राज्य हुनुपर्ने मागसहित सोमबारदेखि भएको आमहड्तालका क्रममा मंगलबार झापामा कुनै पनि अप्रिय घटना नभए पनि यातायात, उद्योग, कलकारखाना, शैक्षिक संस्था, व्यापारिक केन्द्र पूर्ण रुपमा बन्द रहेपनि बजार आंशिक रुपमा खुलेका छन् ।

 

सडकमा मोटरसाइकल, आकस्मिक सेवाका साधनहरु निर्वाध रुपमा सञ्चालनमा छन् भने बन्दका कारण सर्वसाधारण जनतालाई भने निकै अप्ठ्यारो परेको देखिन्छ ।

 

आन्दोलनमा कुनै पनि हिंसात्मक क्रियाकलाप नगर्ने राजनीतिक दलहरुबीच केही दिनअघि सहमति पनि भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us