एक दशकपछि नेपाल वायु सेवा निगमको बैंगलोर उडान शुरु

काठमाण्डु टुडे २०७२ भदौ १५ गते ११:५४ मा प्रकाशित

Nepal Airlines
काठमाण्डु, १५ भदौ– नेपाल वायुसेवा निगमले १० वर्षपछि मंगलबारबाट भारतको बैंगलोर सहरमा उडान सुरु गरेको छ ।
निगमले २०६३ सालमा बन्द गरेको काठमाण्डु,–बैंगलोर रुटमा मंगलबारबाट फेरि उडान शुरु गरेको हो ।

मंगलबार दिउँसो १२ः४५ बजे काठमाण्डुबाट बैंग्लोरका लागि पहिलो उडान भर्ने नेपाल वायु सेवा निगमले जनाएको छ ।
निगमले भदौ ३० गतेबाट भारतको अर्को सहर मुम्बईमा पनि उडान सुरु गर्नेछ ।

बिदा मनाउन नेपाल आउन चाहने भारतीय पर्यटकका लागि लक्षित गरेर ती गन्तव्यमा उडान सुरु गर्न लागिएको निगमले स्पष्ट पारेको छ ।
ती गन्तव्यमा उडान सुरु भए नेपालमा भारतीय पर्यटकको संख्या बढ्ने अनुमान निगमको छ । भारतले यसअघि नै नेपाललाई बिदा पर्यटन मनाउने गन्तव्यका रुपमा छनौट गरिसकेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सार्क सम्मेलनमा भाग लिएर नयाँदिल्ली फर्किए लगत्तै भारतले नेपाललाई यो सूचीमा राखेको थियो ।

पहिलो उडानमा काठमाण्डुबाट बैंगलोर जाने निगमको एयरबस ९० जना यात्रु लिएर जानेछ भने फर्कँदा ३३ जना यात्रु लिएर फर्कनेछ ।

सुरुमा यात्रु संख्या केही कम भएपनि बिस्तारै बढ्दै जाने अपेक्षा निगमको छ । निगमले ती गन्तव्यमा सस्तो दरमा टिकट दिनेसमेत भएको छ ।

पहिलो एक महिनाका लागि सार्वजनिक गरिएको यो योजना अनुसार एकतर्फी टिकटको मूल्य सम्पूर्ण करसहित १० हजार ९२ रुपैयाँ तोकिएको छ ।
विदेशी यात्रुले भने यो शुल्कमा थप १ हजार १ सय ३० रुपैयाँ तिर्नुपर्छ ।

निगमले बैंगलोरमा हप्ताको दुई दिन मंगलबार र शनिबार उडान भर्नेछ भने मुम्बईमा सोमबार, बुधबार र शुक्रबार उडान भर्ने जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us