कैलालीमा सय थारु मारिएको हल्ला झुट्टो

काठमाण्डु टुडे २०७२ भदौ १४ गते १७:१७ मा प्रकाशित

काठमाण्डु, १४ भदौ– गत सोमबार कैलालीको टीकापुरमा भएको घटनामा सय जना थारु मारिएको भन्ने समाचारमा सत्यता नरहेको पुष्टि भएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईंले टीकापुर घटनामा आन्दोलनकारीतर्फ कसैको मृत्यु नभएको बताए ।
‘आन्दोलनकारीले सुरक्षाकर्मीमाथि ताकेर प्रहार गरेका थिए ।’ प्रमुख जिल्ला अधिकारी चापागाईले काठमाण्डु टुडेसँग भने, ‘घटनामा  एक बालक र सुरक्षाकर्मीको मात्र मृत्यु भएको छ ।’

उनले आन्दोलनकारीको तर्फबाट गोली नचलेकाले एक नाबालक र सात सुरक्षाकर्मी बाहेक अरुको मृत्यु नभएको दावी गरे ।

प्रमुख जिल्ला अधिकारी चापागाईले थरुहटका कार्यकर्ताले अफवाह फैलाउन आफ्ना सैयौं कार्यकर्ता मारिएको भ्रामक सूचना फैलाएको बताए ।

टीकापुर घटना भएको भोलीपल्ट मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको नेतृत्वमा प्रधानमन्त्री सुशील कोइरालालाई भेट्न गएको थारु सभासदहरुको टोलीले आफ्ना सय जना कार्यकर्ता मारिएको दावी गरेका थिए ।

प्रधानमन्त्रीसँगको भेटपछि थरुहट तराई पार्टीका सभासद गोपाल दहितले प्रहरीले आधा घण्टासम्म गोली चलाएर सय जना थारु कार्यकर्ता मारिएको भन्दै सरकारको ध्यानाकर्षण गराएको काठमाण्डु टुडे डटकमलाई बताएका थिए ।

प्राप्त सूचनालाई थप पुष्टि नगरी हतारमा प्रकासित गरेको समाचारले पाठकमा पर्न गएको भ्रमप्रति हामी क्षमाप्रार्थी छौं ।

हामी अन्तरिम संविधान, प्रचलीत कानुन, राष्ट्रिय स्वाधिनता र अखण्डताप्रति सजग रहँदै आफ्नो जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्ने प्रतिवद्धता पुन दोहोर्याउन चाहन्छौं ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us