पहिरो खस्न थालेपछि चिमखोला गाउँ जोखिममा

काठमाण्डु टुडे २०७२ भदौ १४ गते १४:५७ मा प्रकाशित

myagdi map
म्याग्दी, १४ भदौ-म्याग्दीको चिमखोला गाउँमाथि रहेको भिरबाट पहिरो खस्न थालेपछि स्थानीयवासी त्रसित बनेका छन् ।

 

चिमखोला–२, ३ र ४ वडाको बस्तीदेखि माथि रहेको बिराउटो भिरबाट पहिरो खस्न थालेपछि स्थानीय त्रसित बनेको स्थानीयवासी दुर्गा पुनले जानकारी दिए ।

 

आइतबार साँझ ६ः ३० बजेदेखि भिरबाट पहिरो खस्न थालेपछि स्थानीय करिब ९० घरधुरी बस्ती छाडेर अन्यत्रै सुरक्षित स्थानमा गएर रात कटाएको उनले बताए । ‘माथिबाट ढुङ्गा र माटो खस्ने क्रम रोकिएको छैन, ठूलै पहिरो जान सक्ने खतरा बढेपछि सर्वसाधारण चिन्तित बनेका छन्, उनले भने ।

 

उक्त पहिरोले गाविसको ६ र ७ वडाका बस्तीलाई समेत असर पु¥याउने बताइएको छ । त्यस्तै हिजो नै चिमखोलाको महभिरबाट खसेको पहिरोले वडा नं १ मा रहेका घरसमेत पहिरोको जोखिममा परेको पुनले बताए ।

 

भिरमाथिबाट खसेको पहिरोले जग्गाजमिन पुरे पनि बस्तीसम्म आइनपुगेकाले मानवीय क्षति हुनबाट जोगिएको छ ।

 

स्थानीयले पहिरोको जोखिमबारे जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन बेनीतर्फ एक टोली आउँदै गरेको बताएका छन् । सदरमुकाम बेनीदेखि एक दिनको पैदल दूरीमा रहेको चिमखोलामा सहज सञ्चार पहुँच नहुँदा थप समस्या देखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us