सामुदायिक सेवा केन्द्रलाई निःशुल्क जग्गा प्रदान

काठमाण्डु टुडे २०७२ भदौ १४ गते ८:३५ मा प्रकाशित

jagga daanखोटाङ, १४ भदौ – सामुदायिक विकास सेवा केन्द्र खोटाङको भवन निर्माणका लागि जिल्लाका एक समाजसेवीले निःशुल्क जग्गा उपलब्ध गराएका छन् ।

रतन्छाका कृषिविज्ञ एवम् समाजसेवी मदन राईले केन्द्रको भवन निर्माणका लागि दिक्तेल नगरपालिका–५ रत्नपार्क नजिक आठ आना जग्गा निःशुल्क उपलब्ध गराएका हुन् ।

जग्गा दाता राईले हालसम्म भवन अभावमा रत्नपार्कस्थित पुरानो दिक्तेल गाविसको भवनमा सञ्चालन हुँदै आएको केन्द्रलाई निःशुल्क जग्गा उपलब्ध गराउनुभएको केन्द्रका अध्यक्ष सनमान खड्काले बताए । प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटा र प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीको आग्रहमा राईले सामुदायिक विकास केन्द्रलाई निःशुल्क जग्गा उपलब्ध गराएको खड्काको भनाइ छ ।

जग्गादाता राईले यसअघि नेपाल पत्रकार महासङ्घ, अपाङ्ग सेवा सङ्घ, किरात राई यायोक्खा, सामुदायिक वन उपभोक्ता महासङ्घ, भूपू सैनिक सङ्घ, महिला एकता अध्ययन केन्द्र, मानवअधिकारका लागि एकल महिला सञ्जाललगायतलाई जग्गा दिइसकेका छन् । प्राप्त जग्गामा यसै वर्षभित्र नयाँ भवन निर्माण गरिने सामुदायिक विकास सेवा केन्द्रले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us