बम आक्रमणमा सरकार विरोधीहरुको हात छ: थाई प्रधानमन्त्री

काठमाण्डु टुडे २०७२ भदौ १३ गते १४:५४ मा प्रकाशित

thai-priminister-ocha
बैंकक, १३ भदौ-थाइल्याण्डमा दुई हप्ताअघि भएको बम आक्रमण यहाँका सरकार विरोधी समूहहरुले गराएको आरोप प्रधानमन्त्रीले लगाएका छन् ।

 

थाई सैनिक सरकारका प्रमुखले बैंककमा गराइएको सो बम विस्फोटनमा सरकार विरोधीहरुको हात रहेको बताएका हुन् ।

 

थाइल्याण्डमा हाल सैनिक सरकार छ र यहाँका राजनीतिक दलहरु प्रतिबन्धित रहेका छन् । राजनीतिक दलहरुले समय समयमा सरकारको विरोधका लागि जमर्को गरिरहेको भएपनि त्यसो हुन भने सकिरहेको छैन ।

 

प्रधानमन्त्री प्रयुत चान ओचाले बैंककमा हमला गर्ने समूह सरकारका विरोधी हुनसक्ने अनुमान गरिएको बताएका आइतबार राजधानी बैंककबाट प्राप्त समाचारमा जनाइएको छ ।

 

उनले सरकारका विरुद्धमा केही समूहहरु लागेका र यस आक्रमणमा पनि सोही समूहको हात हुनसक्ने अनुमान गरिएको जनाएका हुन् ।

 

उनले थाइल्याण्डका राजनीतिक दलहरु नै त्यसमा सम्लग्न थिए त भन्ने बारेमा भने केही खुलाएका छैनन् ।

 

थाइल्याण्डमा सन् २००६ देखि यस्ता आक्रमणहरु हुने गरेका छन् । यी आतङ्ककारी आक्रमणहरुबाट कयौँ नागरिकको ज्यान गएको छ ।

 

तरपनि यो पछिल्लो समयको हमला भने निकै नै शक्तिशाली हमला थियो । सो विस्फोटमा परी २१ जनाको ज्यान गएको छ भने एकसय २० जना घाइते भएका छन् । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us