प्रियजनको पर्खाइमा बिते बाह्र वर्ष

काठमाण्डु टुडे २०७२ भदौ १३ गते १३:३४ मा प्रकाशित

bepatta
बागलुङ, १३ भदौ-बाह्र वर्षदेखि सरस्वती विकका आँखा ओभाएका छैनन्, नत मनमा चैन छ । बेपत्ता छोरीको खोजीमा भौँतारिरहेकी विकले न छोरी पाउन सकेकी छन्, न त न्याय नै । छोरीको कुरा गर्ने बित्तिकै भक्कानो फुटेर आउँछ, उनको । सशस्त्र युद्धका बेला तत्कालीन राज्य पक्षबाट छोरी अनिता बेपत्ता भएकी हुन् ।

 

बेपत्ता छोरीको अवस्था थाहा पाऊँ भनी सरस्वती विकले राज्यका विभिन्न निकाय र सङ्घसंस्था गुहार्न थालेको पनि वर्षौं बितिसकेको छ । अनिता २०५९ सालको माघ महिनादेखि बेपत्ता अवस्थामा रहेकी छन् । ‘हामीलाई राहत, पैसा चाहिएको छैन, हाम्री छोरी चाहिएको छ,’ सरस्वतीले भनिन्, ‘यत्रो वर्षसम्म न छोरी पायौँ न त छोरीको लास नै ।’ न्यायको खोजी गर्दा आफूले आश्वासनबाहेक अहिलेसम्म केही नपाएको गुनासो सरस्वतीले गरिन् । ‘हाम्रो बारेमा धेरै कुरा भए, सबैले राम्रै कुरा भन्छन् तर हामीले न्याय पाएनौँ ’ विकले भनिन् ।

 

विभिन्न मानवअधिकारवादी संस्थाले आफ्ना आवाज उठाएकामा भने विक सन्तोष मानिरहेकी छन् । विकले छोरी अनिताको सत्यतथ्य पत्ता नलागेसम्म आफू न्यायको लागि लडिरहने बताइन् । ‘छोरीको अवस्था के–कस्तो छ, ऊ कहाँ छ, मरेको भए हामीलाई हाडखोर भए पनि चाहिन्छ,’ सरस्वतीले रुँदै भनिन्, ‘मेरो छोरीको जिन्दगी खानेलाई सजाय हुनुपर्छ ।’

 

‘चरन गएको गाईवस्तु पनि साँझ गोठ फर्केर नआउँदा कस्तो हुन्छ,’ विकले भनिन्, ‘हाम्रा आफन्त त १२ वर्षदेखि बेपत्ता छन् । उनको अवस्था पनि थाहा छैन ।’ सरस्वती विक जस्तै बागलुङमा रहेका अन्य बेपत्ता परिवारको पीडा पनि उस्तै छ । विसं २०५८ मा पति बेपत्ता भएपछि भीमकला घर्तीको जीवन पनि दुःखको दोभानमा फसेको छ ।

 

रातदिन श्रीमान्को पर्खाइमा बिताउने भीमकला न्यायको खोजीमा निस्केको पनि दशकभन्दा बढी भएको छ । बाह्र वर्षदेखि हामीले हाम्रो मान्छे कस्तो अवस्थामा छ, मरेको छ कि ज्यूँदो छ केही थाहा पाउन सकेका छैनाँै, हामीलाई न्याय चाहियो, उनले भनिन् । घर्तीको पनि श्रीमान् बेपत्ता बनाउने जो भए पनि उसले कारबाही भोग्नुपर्ने र पीडितले न्याय पाउनुपर्ने भनाइ छ ।

 

बेपत्ता आफन्तका बारेमा यथार्थ थाहा पाउन पाए पनि मनले शान्ति पाउने बेपत्ता परिवारका सदस्यले बताउने गरेका छन् । द्वन्द्वको समयमा श्रीमती बेपत्ता भएपछि बागलुङको बोहोरा गाउँका खुमलाल शर्मा पनि न्यायको पर्खाइमा रहेका छन् । वि।सं २०६२ को मङ्सिरमा श्रीमती सुशीला शर्मा बेपत्ता भएपछि त्यसयता कुनै अत्तोपत्तो छैन । शर्माले पनि युद्धको बहानामा भएका अपराधजन्य घटनाको छानबिन हुनुपर्ने र अपराधीले सजाय पाउनुपर्ने बताए ।

 

तत्कालीन विद्रोही पक्षबाट शर्माकी श्रीमती सुशीला बेपत्ता भएकी थिइन् । ‘राजनीतिक दलकै कारण बेपत्ता परिवारले बेलैमा न्याय पाउन सकेका छैनन्, दलहरु नै मुख्य दोषी छन्, शर्माले भने, ‘बेपत्ता भएकाको अवस्था तुरुन्त सार्वजनिक गर्नुपर्छ र पीडितले न्याय पाए भनेमात्र पीडितको आँसु रोकिन सक्छ ।’

 

सरकार र राजनीतिक दलले बेपत्ता व्यक्तिको आफन्तलाई न्याय दिने आश्वासनमात्र दिँदै आएको बेपत्ता परिवार समाजकी अध्यक्ष जशोदा शर्माको भनाइ छ ।

 

जशोदाका श्रीमान् सूर्यप्रसाद पनि २०५८ सालदेखि बेपत्ता रहेकी छन् । शर्माले आफूहरुले न्यायका लागि वर्षौंदेखि आवाज उठाएपनि त्यसको कुनै सुनुवाइ हुन नसकेको गुनासो गरेकी छन् ।

 

शर्माले भने, अन्तर्राष्ट्रिय अदालतसम्म पुगेर पीडितको पक्षमा मुद्दाको फैसला भए पनि सरकार र राजनीतिक दलले त्यसको सुनुवाइका लागि कुनै पहल गर्न सकेका छैनन् । प्रमुख दोषी भनेका नै दल हुन् ।’

 

शर्माले बेपत्तासम्बन्धी कानुनको निर्माण तथा आयोगको गठन हुनु सकारात्मक भएको धारणा राखे । स्थानीय शान्ति समितिको तथ्याङ्कअनुसार सशस्त्र द्वन्द्वका बेला बागलुङमा २५ जना बेपत्ता भएको थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us