आफगानिस्तानसँग नेपाल १० विकेटले पराजित

काठमाण्डु टुडे २०७२ भदौ १२ गते १३:२५ मा प्रकाशित

ACC U 19
काठमाण्डु, १२ भदौ– एसीसी अण्डर नाइन्टिन प्रिमियर लिग क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ ।

मलेसियाको क्वालालामपुरमा टस जितेर ब्याटिङ रोजेको नेपाली टोलीलाई अफगानिस्तानले नेपाललाई १० विकेटले पराजित गरेको हो ।

४७ दशमलब ५ ओभर मात्र खेलेको नेपालले अलआउट हुनु पूर्व १ सय २३ रनको झिनो योगफल तयार गरेको थियो ।

१ सय २४ रनको झिनो विजयी लक्ष्य लिएर ब्याटिङ शुरु गरेको अफगानिस्तानले २५ ओभरमा विना विकेट क्षति १ सय २७ रन बनाउँदै जितको लक्ष्यमा पुगेको हो ।

अफगानी बलहरु सामु निरीह देखिएका नेपाली ब्याट्सम्यानहरुले खेलमा निकै खराब सुरुवात गर्नुका साथै ब्याटिङमा जम्न सकेनन् ।

नेपाली टोलीले मात्र ४ रन जोड्दा सुरुवाती ३ विकेट गुमाएको थियो । नेपालका लागी ओपनर सुनिल धमलाले ४६, योगेन्द्रसिंह कार्की र प्रदिप तामाङले समान २० तथा दिपेन्द्रसिंह ऐरिले १० रन मा जोडे ।

सहभागी सबै ६ टोलीले राउण्ड रोबिन लिगका आधारमा एक अर्कासँग प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा शीर्ष ३ स्थान ओगट्न सफल राष्ट्र अन्डर नाइन्टिन एसिया कपका लागी छनोट हुने छन् ।

शुक्रबारदेखि मलेसियामा सुरु भएको प्रतियोगितामा युएईलाई १ सय ४९ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले बिजयी सुरुवात गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us