देउवाले भने, ‘थारु र पहाडीका बीचमा फुट ल्याउने तत्व सक्रिय छन्’

काठमाण्डु टुडे २०७२ भदौ ११ गते १९:०४ मा प्रकाशित

serbahadur_deuba1
काठमाण्डु, ११ भदौ-नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले थारु र पहाडीका बीचमा मेलमिलाप हुन नदिने तत्व सक्रिय रहेकाले सचेत हुन आग्रह गरेका छन् ।

 

काँग्रेस सिन्धुपाल्चोकले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘आपसमा मिलेर बसेका थारु र पहाडीका बीचमा फुट ल्याउने तत्व सक्रिय भएका छन्, थारु–पहाडी–जनजातिलगायत मिलेर नबसे नेपालको अस्तित्व नै खतरामा पर्ने भएकाले आपसी सद्भाव कायम गरी फरक मत शान्तिपूर्ण रुपमा राखिनुपर्छ ’ ।
कार्यक्रममा सिँचाइमन्त्री नारायणप्रकाश साउदले हिमाल, पहाड र तराईका नेपाली आपसमा मिलेर बसेकामा भेद ल्याउने समूहका पछाडि नलाग्न आह्वान गर्दै संविधान जारी हुने तयारी अन्तिम चरणमा पुगेका बेला संविधान ल्याउनै नदिन जातीय विद्वेष फैल्याउने समूह सक्रिय भएकाले सचेत हुनुपर्ने बताए ।

 

काँग्रेस नेता गोपालमान श्रेष्ठले आपसी मेलमिलाप र सद्भाव कायम गर्ने संविधान जारी गरिनुपर्नेमा जोड दिए । सभासद् एवम् काँग्रेस सिन्धुपाल्चोकका सभापति मोहनबहादुर बस्नेतले भूकम्पले चिरा परेको पार्टी केन्द्रीय कार्यालय पुनःनिर्माणका लागि जिल्ला कार्यसमितिकातर्फबाट पाँच लाख दिने घोषणा गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us