थारू भाषाको लघु चलचित्र ‘लाज’ कोरियामा

काठमाण्डु टुडे २०७२ भदौ ११ गते १३:५७ मा प्रकाशित

laaj short film
देउखुरी, ११ भदौ– थारू जातिको कला, संस्कृति संगसंगै मुक्त कमैयाँ र उनीहरुका नाममा गरिने राजनीतिलाई विषयवस्तु बनाई निर्माण गरिएको लघु चलचित्र ‘लाज’ कोरियामा हुने ‘बुसान इन्टरनेशनल फिल्म फेष्टिभल–२०१५’ मा प्रदर्शनका लागि छनोटमा परेको छ । एसियाकै सबैभन्दा ठूलो मानिएको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विश्वका ७५ देशका तीन सय चार वटा चलचित्र छनोटमा परेका छन् । ‘लाज’ एसियन सर्ट फिल्म प्रतियोगितामा छनोट भएको होे । महोत्सवमा विश्वका विभिन्न भाषा–भाषीका चलचित्रहरु प्रदर्शन गरिने भएको छ ।

असोज १४ गतेदेखि २३ गतेसम्म प्रदर्शन गरिने योे बुसानको २०औं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव रहेको बताइएको छ । ‘लाज’ थारू र नेपाली भाषामा निर्माण गरिएको चलचित्र भएपनि महोत्सवमा अंग्रेजी र कोरियन भाषामा अनुवाद गरिएर प्रदर्शन गरिने चलचित्रका प्रबन्ध निर्देशक कसम नेपालले जानकारी दिनु भएको छ । चलचित्र ‘लाज’मा भूमिपुत्र थारू जातिको सांस्कृतिक पाटोलाई उजागर गर्नका लागि उनीहरुका लवाई, खवाई, चाडपर्व, नाच–गान र जीवनशैलीलाई पर्दामा उतारिएको छ । त्यसैगरि २०५७ सालमा मुक्त घोषणा गरिएका मुक्त कमैयाँहरुका गरीबीलाई देखाइएको छ ।

जहाँ विभिन्न समयमा राजनीतिक नेताहरुले दिएको आश्वासन र उनीहरुप्रति गरिएका अन्याय, शोषण र दमन गरिएको हृदयविदारक घटना र दलहरुको फोहोेरी राजनीतिप्रतिको व्यङ्य प्रहार पनि गरिएको छ । आइडियज एण्ड इमेज प्रा।लि।द्वारा निर्माण गरिएको चलचित्र लाजको निर्देशन सुसन प्रजापति र सहनिर्देशन सन्तोष दाहालले गर्नु भएको छ ।

त्यसैगरि अजित लामिछानेको कथा/पटकथा, उज्ज्वल ढकालको सम्पादन र गगन श्रेष्ठ र कुशल पोख्रेलले निर्माण नियन्त्रकको भूमिका निभाउनु भएको थियो । दाङको सिसहनियाँ थारूगाउँ, बिजौरी बजार, नारायणपुर, टेरौटे, घोराही नगरपालिका लगायत ठाउँमा छायांकन गरिएको थियो । यस चलचित्रमा साहित्यकार छविलाल कोपिला, सीता दहित, अजित लामिछाने, कल्पना श्रेष्ठ, नित्यानन्द शर्मा, विरेन्द्र चौधरी लगायत दङ्गाली कलाकारहरुको प्रमुख भूमिका रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us