टीकापुर नरसंहारको नेतृत्वकर्ता लाजै नमानी भन्छन्, ‘हत्या निन्दनीय छ’

काठमाण्डु टुडे २०७२ भदौ ११ गते १०:३३ मा प्रकाशित

काठमाण्डु, ११ भदौ– कैलालीको टीकापुरमा दुई वर्षे नाबालकसहित ८ सुरक्षाकर्मीको ज्यान लिने आन्दोलनकारीको नेतृत्व लिएका व्यीक्तले नै उक्त घटना दुःखद र निन्दनीय भएको टिप्पणी गरेका छन् ।

kailali

विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका सभासद् जनकलाल चौधरीले शुक्रबार संविधानसभा बैठकमा उक्त घटनाको निन्दा गरे । चौधरी थरुहट आन्दोलनको नेतृत्व गर्ने मध्येका एक हुन् ।

‘कैलालीमा जुन घटना घटेको छ, त्यो निन्दनीय हुन्छ’, संविधान मस्यौदामाथि टिप्पणी गर्ने क्रममा उनले भने, ‘हत्या सधैं निन्दनीय नै हुन्छ, कहिल्यै प्रशंसनीय हुँदेन ।’ चौधरीले घटनामा मारिएका सुरक्षाकर्मीसहित सबैप्रति श्रद्धाञ्जली भने ।

उनले घुमाएर हत्याको जिम्मेवारी आफूहरुले लिन नसक्ने बताए । चौधरीले नेपालको धर्ती पुत्रका रुपमा रहेको थारु समुदायले अधिकारका लागि पटकपटक संघर्ष गरेको र आफ्ना थुप्रैपटकका प्रतिबद्धताबाट राज्य पछि हटेकाले थारुहरु आन्दोलित भएको बताए ।

‘संविधान लेख्ने अन्तिम चरणसम्म आइपुग्दा संविधानले आफ्नो अधिकार र मूल्यमान्यता स्थापित गर्ला भन्ने विश्वासमा रहेको थारुहरुको पहिचान बाबुसाहेब, जमिनदार र मुखियाहरुले खण्डित गर्न खोजेका छन्’, उनले भने ।

चौधरीले बहुसंख्यक जनसंख्याको बसोबास रहेको तराई आन्दोलित भइरहेका बेला ‘कसरी हाम्रो र राम्रो संविधान आउन सक्छ भन्ने प्रश्न गरे ।

उनले टीकापुर घटनापछि आफ्नो घरमा आगो लगाइएको भन्दै सभासदको समेत सुरक्षा दिन नसक्ने राज्यले जनताको सुरक्षा दिन नसक्ने आरोप लगाए ।

‘सुरक्षाको दृष्टिकोणले पहिलो प्राथमिकतामा परेको व्यक्तिको घरमा आगो लाग्छ भने राज्यले सर्वासाधारण जनताको जिउ धनको सुरक्षा कसरी गर्न सक्छ ?’, उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us