मोदीले भनेजस्तो ऋषिमनले होइन, बुद्धमनले संविधान ल्याउनुपर्छः खनाल

काठमाण्डु टुडे २०७२ भदौ ११ गते ९:४२ मा प्रकाशित

काठमाण्डु, ११ भदौ– एमाले अध्यक्ष झलनाथ खनालले जातीयता, क्षेत्रीयता र पृथकतावादीहरुले जे सुकै भने पनि नेपालका ९९ प्रतिशत जनता छिटो संविधान बनोस् भन्ने पक्षमा रहेको बताएका छन् ।

jhalanath-khanal

संविधानको परिमार्जित मस्यौदामाथिको छलफलका क्रममा शुक्रबार संविधानसभामा बोल्दै खनालले सबै खालका अतिवादबाट मुक्त हुँदै हिमालदेखि तराईसम्मका जनताको अधिकार सुनिश्चित हुने संविधान चाहिएको बताए ।

अध्यक्ष खनालले राजावादी शक्तिहरु समेत संविधान ल्याउन नदिन सक्रिय रहेको भन्दै लोकतान्त्रिक गणतन्त्रबाट पछाडि फर्केर राजतन्त्र आउन नसक्ने प्रष्टयाए । ‘लोकतान्त्रिक गणतन्त्र नेपाल हाम्रो ठूलो उपलब्धी हो’, खनालले भने, ‘यसबाट सामन्तवाद र राजतन्त्रमा फर्कन सकिँदैन ।’

उनले संघीयता कुनै क्रान्ति नभई शासन पद्धति मात्र भएको र त्यो नेपालमा प्रयोग गर्न लागिएको उल्लेख गरे । संघीयता सफल वा असफल के भन्न नसकिने भए पनि सबै दलले प्रतिबद्धता जनाइसकेकाले संघीयताबाट पछि फर्कने नभई हिम्मतका साथ प्रयोग गर्न सक्नुपर्ने बताए ।

खनालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा सम्बोधन गर्ने क्रममा ऋषिमनले संविधान बनाउन गरेको आग्रहलाई समेत स्मरण गरे ।

उनले मोदीले भनेजस्तो ऋषिमनले नभई बुद्ध मनले संविधान बनाउनुपर्ने तर्क गरे । ‘संविधान बन्न नदिन अनेक प्रकारका शक्ति सक्रिय छन्’, खनालले भने, ‘नरेन्द्र मोदीले ऋषिमनले भने पनि हामी बुद्धमनले संविधान बनाउने काममा लाग्नुपर्छ ।’ मुलुकलाई अशान्ति र संकटको घडीबाट पार लगाउन ऋषिमन नभई बुद्धमन चाहिएको उनको भनाइ थियो ।

खनालले कैलालीको टीकापुरमा दुई वर्षे बालकलाई समेत नृशंस हत्या गरिनाले नेपालको शिर निहु¥याएको बताए । खनालले संविधान अन्तिम दस्तावेज नभई समयको माग, आवश्यकता र मुलुको स्वार्थअनुसार परिमार्जन गर्न सकिने भन्दै सबै संयम हुन जरुरी रहेको बताए ।

खनालले दलित, मुस्लिम, थारु, जनजाति र मजदुरका माग संविधानमा समेट्न अधिकतम प्रसाय गरिनुपर्नेमा जोड दिए । खनालले जनजातिहरुले आयोगमार्फत समस्या समाधानका लागि राखेको प्रस्ताव स्विकार गर्दा केही नबिग्रने पनि स्पष्ट गरे ।

खनालले असन्तुष्ट पक्ष र समूहलाई भाला, खुकुरी, लरबार र लाठीमार्फत नभई वार्ता र संवादको प्रक्रियाबाटै समस्याको समाधान खोज्न अपिल पनि गरे ।

अध्यक्ष खनालले राजावादी शक्ति आफ्नो गुमेको लुटको स्वर्ग फिर्ता गर्न सक्रिय भएको भन्दै त्यसको राज्यले शक्ति लगाएर भए पनि सामना गर्नुपर्नेमा जोड दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us