कञ्चनपुरमा यसरी भित्रिन्छ एचआइभी एड्स

काठमाण्डु टुडे २०७२ भदौ १० गते १३:४८ मा प्रकाशित

AIDS
कञ्चनपुर, १० भदौ-एचआइभी एड्सबाट कञ्चनपुर जिल्लामा ४४० जना सङ्क्रमित रहेको पाइएको छ । तीमध्ये २३१ पुरुष, २०८ महिला र एकजना तेस्रोलिङ्गीमा एड्सको सङ्क्रमण देखापरेको हो । एड्सबाट सङ्क्रमित हुने १८ वर्षमूनिका बालबालिकाको सङ्ख्या भने ५० रहेको छ ।

 

जिल्ला एड्स समन्वय समिति कञ्चनपुरका अनुसार गत वर्षसम्म एचआइभी एड्सबाट सङ्क्रमित हुनेको सङ्ख्या ४१९ रहेको थियो, जसमा पुरुष २२२, महिला १९६ र एक जना तेस्रोलिङ्गीमा एड्सको सङ्क्रमण देखापरेको थियो । सोही अवधिमा अठार वर्षमूनिका ४६ जना बालबालिकामा एड्सको सङ्क्रमण देखापरेको थियो ।

 

सबैभन्दा बढी ३० वर्षदेखि ३९ वर्षसम्मका पुरुष र महिलामा एचआइभी एड्सको सङ्क्रमण देखिएको छ ।

 

यौनकर्मी महिलासँग असुरक्षित तरिकाले यौन सम्पर्क राख्ने ग्राहकहरु एचआइभी एड्सबाट बढी सङ्क्रमित भएको पाइएको जिल्ला एड्स समन्वय समिति कञ्चनपुरका कार्यक्रम संयोजक रतनबहादुर विष्टले बताए । उनका अनुसार सबैभन्दा बढी प्रवासमा लामो समय बसेर फर्केका व्यक्तिमा एड्सको सङ्क्रमण बढ्दो रुपमा रहेको छ ।

 

‘जोखिमयुक्त तरिकाले यौनसम्पर्क राख्दा प्रवासीमा एड्सको सङ्क्रमण भएको र घरमा रहेका श्रीमतीलाई उनीहरुले नै एड्स सङ्क्रमण सारेको बढी देखिएको छ,’ उनले भने ।

 

एचआइभी एड्सको सङ्क्रमण रोक्नका लागि जनचेतना बढाउँदै लैजानुपर्ने एनएसडब्लुएका एड्ससम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आउनुभएका देवराज बडुले बताए ।

 

विगतका वर्षहरुमा भन्दा एड्सको सङ्क्रमण दर बढ्दै गएको देखिएको छ, उनले भने, ‘यसलाई न्यूनीकरण गर्नका लागि चेकजाँच सेवालाई ग्रामीण क्षेत्रसम्म विस्तार गर्नु आवश्यक छ ।’

 

कञ्चनपुरमा सन् २००५ मा एचआइभी एड्सको पहिलो रोगी देखापरेको थियो ।

 

जिल्ला एड्स समन्वय समितिले एचआइभी सङ्क्रमितहरुको नियमित चेकजाँचका लागि एआरटी, पिएमटिसिटी, भिसिटीलगायतका सेवा प्रदान गर्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us