सुपर सिक्स क्रिकेट प्रतियोगिता हुने

काठमाण्डु टुडे २०७२ भदौ ९ गते १५:४६ मा प्रकाशित

cricket
काठमाण्डु, ९ भदौ-आगामी असोज ९ देखि १३ गतेसम्म दोस्रो सेञ्चुरी कर्पोरेट बैक सुपर सिक्स क्रिकेट प्रतियोगिता राजधानीमा सञ्चालन हुने भएको छ ।

 

एसएस इभेन्टस प्राइभेट लिमिटेड कम्पनीको आयोजनामा हुने उक्त प्रतियोगिताको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक कम्पनीका प्रमुख कार्यकारी निर्देशक रमन सिवाकोटीले जानकारी दिए ।

 

विभिन्न २४ टिमले भाग लिने उक्त प्रतियोगिताको लागि करिब २५ लाख खर्च लाग्ने कार्यकारी निर्देशक सिवाकोटीको भनाइ छ ।

 

त्यस्तै, उक्त प्रतियोगिताको लागि सेञ्चुरी बैंकले यसअघि नै छ लाखको प्रायोजन गरिसकेको छ । उक्त बैंकका कार्यकारी निर्देशक जीवन भट्टराईले क्रिकेट खेलले धेरै नै सफलता हासिल गरेको हुनाले पनि क्रिकेट खेलको विकासका लागि प्रायोजन गरेको बताए ।

 

अघिल्लो संस्करणमा १८ टोलीले भाग लिएको उक्त प्रतियोगिताको उपाधि भने सिभिल बैंकले जितेको थियो । उक्त प्रतियोगितामा सहभागी खेलाडी २५ वर्ष पूरा भएको हुनुपर्ने आयोजकले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us