गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छः वैद्य

काठमाण्डु टुडे २०७२ भदौ ९ गते १४:०९ मा प्रकाशित

IMG_6580
काठमाण्डु, ९ भदौ– नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले कैलालीको टीकापुरमा सोमबार भएको घटनामा सरकारको चरम लापरबाही भएकाले गृहमन्त्री बामदेव गौतमले नैतिकताको आधारमा तत्काल राजीनामा दिनुपर्ने बताएका छन ।

बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर अध्यक्ष वैद्यले हजारौं प्रदर्शनकारी भएको ठाउँमा बिना हतियार केही संख्यामा सुरक्षाकर्मी पठाउने गृह मन्त्रालयको योजना नै त्रुटिपूर्ण भएको भन्दै गृहमन्त्रीको राजीनामा मागेका हुन् ।

उनले थरुहटका जनताको माग जायज भएकाले तत्काल सम्बोधन गर्न दलहरुलाई आग्रह गरे । टीकापुर घटनाको सत्यतथ्य छानबिन गर्न पनि अध्यक्ष वैद्यले सरकारसँग माग गरे ।

अध्यक्ष वैद्यले प्रमुख चार राजनीतिक दलका नेताहरु तानाशाही ढंगले अघि बढेका कारण मुलुक गम्भीर मोडमा पुगेको आरोप पनि लगाए ।

उनले दंगाग्रस्त क्षेत्रमा सेना परिचालन गरेर जनताको मागलाई दबाउन खोजिएको आरोप पनि लगाए ।

नेकपा–माओवादीले प्रमुख दलका नेताहरुले गरिरहेका गतिविधि विरुद्ध भदौ ११ गतेदेखि आन्दोलन गर्ने चेतावनी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us