अखण्ड सुदुरपश्चिमको नाममा प्रर्दशन हुन नदिन प्रधानमन्त्रीको निर्देशन

काठमाण्डु टुडे २०७२ भदौ ८ गते १५:३७ मा प्रकाशित

Baluwatar
काठमाण्डु, ८ भदौ– थारु सभासदहरुले अखण्ड सुदुरपश्चिमको नाममा कैलालीको टीकापुरमा आतंक मच्चाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको नेतृत्वमा गएका थारु सभासदहरुले कैलालीमा अखण्ड पक्षधरहरुले प्रहरीको संरक्षणमा थारू नेता तथा सभासदहरुको घरमा आगजनी तथा तोडफोड गरेको भन्दै तत्काल रोक्न प्रधानमन्त्री कोइरालासँग आग्रह गरेका थिए ।

उनीहरुले सुरक्षाकर्मीले आन्दोलनकारीलाई उत्तेजित पारेपछि दुखद घटना भएको बताएका थिए ।

थारु सभासदले अखण्ड पक्षधरले आक्रमण गरेको गुनासो गरेलगत्तै प्रधानमन्त्री कोइरालाले टेलिफोन गरेर थारु सभासद तथा थरुहट समर्थकको घर तथा सम्पतिमा आगजनी गर्नेलाई नियन्त्रणणमा लिएर कारवाही गर्न गृहमन्त्री वामदेव गौतमलाई निर्देशन दिएका थिए ।

उनले प्रहरीको संरक्षणमा अखण्ड पक्षधरहरुलाई प्रर्दशन गर्न नदिन र घटनाका दोषीहरुलाई पक्राउ गरी कारवाही गर्ने भन्दै थारु सभासदहरुलाई आस्वस्त पारेका थिए ।

यस्तै प्रधानमन्त्री कोइरालाले शान्तिपूर्ण आन्दोलन गर्न थरुहटका कार्यकर्तालाई आग्रह गरेका थिए । उनले आपसी सद्भाव कायमा राख्न पनि थारु नेताहरुलाई आग्रह गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us