दलहरु र थारु कल्याणकारीरिणी समितिले सामाजिक सदभाव भड्किन नदिने प्रतिबद्धता जनाए

काठमाण्डु टुडे २०७२ भदौ ८ गते १४:०० मा प्रकाशित

chitwan map

चितवन, ८ भदौ- चितवनका राजनीतिक दल, आदिवासी जनजाति महासङ्घ र थारू कल्याणकारिणी सभाले आफ्नो आन्दोलन शान्तिपूर्ण ढङ्गले गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

उनीहरुले आपसी सद्भाव खल्बलिन नदिने समेत जनाएका छन् । कैलाली घटनाको भोलिपल्ट चितवनमा प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले डाक्नुभएको सर्वदलीय र सर्वपक्षीय भेलामा उनीहरुले यस्तो बताएका हुन् । बन्द आह्वानकर्ताले स्थानीय प्रशासनसँग समन्वय गरी कार्यक्रमको आयोजना गर्ने र सो क्रममा प्रहरी प्रशासनले पनि संयमता अपनाई शान्तिपूर्ण आन्दोलनलाई हस्तक्षेप नगर्ने विषयमा समझदारी बनेको छ ।

 

थारू कल्याणकारिणी सभा चितवनका सभापति विश्राम महतो, सल्लाहकार टिकेन्द्र चौधरी र ललित चौधरीले आफ्ना आन्दोलन शान्तिपूर्ण हुने र जिल्लामा सद्भाव भड्कन नदिने प्रतिबद्धता व्यक्त गरे ।

 

आदिवासी जनजाति महासङ्घ चितवनका अध्यक्ष पदम गुरुङले आ–आफ्नो माग पूरा गर्न गरिने आन्दोलन शान्तिपूर्ण हुनुपर्नेमा आफ्नो सङ्गठन रहेको भन्दै उनले स्थानीय प्रशासनले पनि संयमता अपनाउनुपर्नेमा जोड दिए ।

 

सो अवसरमा नेपाली कांग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङ, नेकपा एमाले चितवनका अध्यक्ष जेएन थपलिया, एकीकृत नेकपा माओवादीका नेता घनश्याम दाहाल, राप्रपा नेपालका अध्यक्ष बद्री तिमिल्सिना, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष रामहरि कँडेल, नेकपा–माओवादी नेता घननाथ सापकोटा, नेकपा माओवादीका नेता दुर्गा सुवेदी, नेकपा माले चितवनका सचिव पर्शुराम लामिछाने लगायतले बन्द–हडताल शान्तिपूर्ण ढङ्गले सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

 

भेलामा चितवनका प्रमुख जिल्ला अधिकारी सिंहले बन्द–हडताल हिंसात्मक हुन नदिन संयमता अपनाएर समन्वय गरी काम गर्न आग्रह गरेका थिए । सो अवसरमा सुरक्षा निकायका प्रमुख, मानवअधिकारकर्मी, पत्रकार लगायतको उपस्थिति थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us