कैलालीमा फेरि तनाव, सभासद चौधरीको घरमा आगजनी

काठमाण्डु टुडे २०७२ भदौ ८ गते १२:२३ मा प्रकाशित

Janakraj Chaudhary
काठमाण्डु, ८ भदौ– सोमबारको घटनाबाट आक्रोशित भएका कैलाली टिकापुरका पहाडी समुदायका स्थानीयले सभासद जनकराज चौधरीको घरमा आगजनी गरेका छन् ।

कैलाली क्षेत्र नम्बर १ का सभासद चौधरीको घरमा आन्दोलनकारीले आगो लगाएपनि सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ ।

टीकापुरको ब्लक नम्बर ६ मा रहेको सभासद चौधरीको घरमा कर्फ्यू जारी रहँदा पनि प्रदर्शनकारीले आगजनी गरेका हुन् ।

यस्तै थरुहट संघर्ष समितिका अगुवा तथा स्थानीय व्यवसायी रेशम चौधरीले सञ्चालन गरेको फूलबारी एफएम र फूलबारी रिसोर्टलगायत बजारमा रहेका २ वटा घुम्ती पसलमा पनि प्रर्दशनकारीले आगजनी गरेका छन् ।

यस्तै धनसिंहपुर ४ र टीकापुरको बनगाउँमा केही घरहरु पनि जलाइएको छ ।

कर्फयू अवज्ञा गर्दै आक्रोशित भीडले बिहान साढे १० बजेतिर विभिन्न ठाउँमा आगजनी गरेका हुन् ।

यसैबीच आगजनीमा संलग्न समूहलाई तितरबितर पार्न प्रहरीले ८ राउण्ड हवाई फायर गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us