सरकार वार्ताको नाटक गरेर दमनमा उत्रिदैछः यादव

काठमाण्डु टुडे २०७२ भदौ ७ गते १६:५१ मा प्रकाशित

Upendra-Yadav
दमक, ७ भदौ-मधेसवादी शीर्ष नेताहरुले सरकारले गरेको वार्ताप्रति आपत्ति जनाएका छन् । उनीहरुले सरकारले वार्ताको वातावरण नबनाएको भन्दै वार्तामा अहिले नै जान नसकिने अडान राखेका छन् ।
सङ्घीय समाजवादी पार्टी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकारले अहिले पहिचानवादी आन्दोलनरत दलहरुसँगको सहमति र सम्झौता कार्यान्वयन नगरेसम्म वार्ता जरुरी नभएको बताएका छन् ।
प्रधानमन्त्री सुशील कोइरालाले आइतबार मात्र आन्दोलनरत दलहरुलाई वार्तामा आउन औपचारिक रुपमा आह्वान गरेको भोलिपल्ट झापाको दमक आएका फोरम अध्यक्ष यादवले सरकारले विगतमा भएका सहमति कार्यान्वयन गर्ने तदरुकता नदेखाएसम्म वार्ताको औचित्य नभएको बताए ।
नेपाल आदिवासी जनजाति महासङ्घले आह्वान गरेको बन्दका क्रममा यहाँ धर्नामा बसेका आन्दोलनकारीको भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने, ‘वार्तामा भएका सहमति कार्यान्वयन गर्नेतर्फ सरकारले चासो नदिएसम्म त्यस्तो वार्ताको कुनै औचित्य हुँदैन ।’
उनले वार्ताको नाटक देखाएर सरकारले दमन गर्न मात्र खोजिरहेको बताए । अध्यक्ष यादवले अन्तरिम संविधान तथा विगतमा भएका उपलब्धिहरुलाई समाप्त गर्ने गरी प्रदेशको विभाजन गरिएको आरोप लगाए ।
यसैगरी, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले विगतमा भएका सहमति कार्यान्वयन गर्न सरकार अग्रसर नभएसम्म वार्ता हुन नसक्ने ठोकुवा गरे । उनले अन्तरिम संविधानले पहिचान र सामथ्र्यको सुनिश्चित नगरे अवस्थामा अहिले त्यसको भावना विपरीत सीमाङ्कनको प्रस्ताव आएको टिप्पणी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us