३० महिना अघि नै काम सक्ने गरी पेट्रोलियम पाइपलाइन संझौतामा हस्ताक्षर

काठमाण्डु टुडे २०७२ भदौ ७ गते १४:५६ मा प्रकाशित

Pipeling Signing ceromany

सोमबार वाणिज्य मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल थापा र भारतीय पेट्रोलियम मन्त्री धमेन्द्र प्रधानबीच सहमति पत्रमा हस्ताक्षर भएको हो ।

संझौतापत्रमा हस्ताक्षर भएसँगै भारतले तोकिएको निर्माण अवधी भन्दा अघि नै नेपाल भारत पेट्रोलियम पाइपलाइन निर्माण गरिदिने प्रतिबद्धता जनाएको छ ।

हस्ताक्षर कार्यक्रममा भारतीय पेट्रोलियम मन्त्री प्रधानले ३० महिना भित्र निर्माण गरिसक्ने योजना भएपनि त्यो भन्दा अघि नै काम सक्ने बताए ।

यसको लागी भारतीय आयल कर्पोरेसन सक्षम रहेको भन्दै उनले आगामी दिनमा चाँडै नै नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच निर्माण सम्झौता गरी काम अघि बढाउन आग्रह गरे ।

उनले रक्सौलदेखि अमलेखगञ्जसम्म मात्रै नभई काठमाण्डुसम्म पनि पाइप लाइन बिस्तरका लागि सहयोग गर्न आफूहरु तयार रहेको बताए ।

मन्त्री प्रधानका अनुसार पाइपलाइन निर्माण भएमा ढुवानी लागत वार्षिक रुपमा ७० करोड रुपैयाँ कम हुनेछ ।

उनले नेपाल भारत पेट्रोलियम पाइपलाइन निर्माणको चर्चा सन् १९७५ देखि चलेपनि ढिलै भएपनि सम्झौतामा हस्ताक्षर गर्न पाउदा खुसी लागेको बताए ।

नेपालका वाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापाले भारत पूर्वाधार विकासमा धेरै अगाडि रहेको भन्दै पाइपलाई निर्माण पनि छिट्टै सम्पन्न हुने बताए ।

उनले सरकारले अमलेखगञ्जबाट काठमाण्डुसम्म पनि पाइपलाइन निर्माणको तयारी गरिरहेकाले सहयोग गर्न भारतलाई आग्रह गरे ।

२४१ किलोमिटर लामो पाइपलाइन निर्माण भएपछि तेलको गुणस्तर राम्रो हुनेछ भने सस्तो र आपूर्ति सहज हुने सरकारी दावी छ ।

सम्झौता भएको ३० महिनाभित्रै निर्माण सम्पन्न हुने पाइपलाइनमा १५ वर्षसम्म नेपालले भारतीय आयल कर्पोरेसन आइओसीबाट मात्रै पेट्रोलियम पदार्थ ल्याउनुपर्नेछ ।

सम्झौताले पेट्रोलियम पदार्थको आपूर्ति गर्ने ढुवानी व्यवसायीको कार्टेलिङ तोडिएपनि सरकार–सरकारबीच हुने कार्टेलिङलाई भने थप मजबुत बनाउँछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us