माडीमा दुई घर बगे,१४ घर उच्च जोखिममा

काठमाण्डु टुडे २०७२ भदौ ४ गते १४:४१ मा प्रकाशित

chitwan map
चितवन, ४ भदौ-दक्षिण चितवनको माडीमा गएरातिदेखिको अविरल वर्षापछि आएको बाढीले विभिन्न क्षेत्र डुबान र कटानको मारमा परेका छन् ।

 

हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको माडीमा यो वर्ष पनि बाढीले प्रभावित पारेको हो । अहिलेसम्म माडीका स्थानीयवासी फूलकुमारी पावे र धोधा महतोको घर बगाएको स्थानीयवासी श्रीप्रसाद दवाडीले जानकारी दिए ।

 

उनीहरुको खाने अन्नसमेत बाढीले बगाएको छ । राति बाढी पसेको भए पनि भागेर परिवारले भने ज्यान जोगाएका छन् । यहाँको रतनी, पौवारी, सिमरा र धोवाहा बढी प्रभावित भएको जनाइएको छ ।

 

माडी नगरपालिका– ५ रतनीका अन्य १४ घर उच्च जोखिममा रहेकाले अहिले स्थानीयवासी घर सार्ने काममा सक्रिय रहेको दवाडीले जानकारी दिए । उनका अनुसार राप्रावि रतनीसमेत कटानको जोखिममा परेको छ । अहिले पनि कटान तीव्र छ ।

 

जिल्ला विपद् व्यवस्थापन समिति चितवनका सूचना अधिकारी बलराम लुइँटेलका अनुसार बाढीले विभिन्न क्षेत्रमा डुबान र कटान सुरु गरेको छ । क्षतिको विवरण भने आइसकेको छैन । केही घर बगाएको र करिब एक दर्जन घर उच्च जोखिममा पारेको जानकारी आएको उनले बताए ।

 

समिति खाद्यान्न व्यवस्थापनमा जुटेको छ भने माडीमा आकस्मिक बैठक बस्न लागेको बताइएको छ ।

 

लुइँटेलका अनुसार माडीको अर्का गाउँ धोवाहासमेत डुबानमा परेको छ । विभिन्न क्षेत्रमा लगाएको धानबालीमा बाढी पसेको छ । दक्षिण चितवनको माडी नगरपालिका बाढीबाट उच्च जोखिममा परेको छ । सिमरामा समेत केही घर डुबानमा पारेको स्थानीयवासीले बताएका छन् ।

 

यहाँको रिउ नदी सबैभन्दा पीडा दिने नदी हो । यस्तै, पहाडी खहरे खोलाले पनि बस्ती जोखिममा पार्ने गर्दै आएको छ । बाढीले अघिल्लो वर्ष माडीमा दुईजनाको ज्यान लिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us