दुई वर्षदेखि बन्द आम्दा अस्पताल खुल्यो

काठमाण्डु टुडे २०७२ भदौ ४ गते १३:३० मा प्रकाशित

jhapa_district_map
झापा, ४ भदौ-आर्थिक अभावका कारण दुई वर्षदेखि बन्द रहेको झापा धुलाबारीस्थित मेची आम्दा अस्पताल शुक्रबारदेखि पुनःसञ्चालनमा आएको छ ।

 

मेचीनगर– ३ का नरेन्द्र खनाल र पदमा खनालले दिएको पाँच कट्ठा जग्गामा जापान सरकारको ९८ लाख र मेचीनगर नगरपालिकाको ५० लाखमा स्थापना भएको १५ श्ययाको सो अस्पताल मेची उद्योग वाणिज्य सङ्घको पहलमा सञ्चालनमा आएको हो ।

 

मेचीनगर नगरपालिका र मेची उद्योग वाणिज्य सङ्घले अनुदान बन्द गरेपछि आर्थिक अभावले दुई वर्षदेखि अस्पताल थला परेको थियो ।

 

सुविधा सम्पन्न भवन र आधुनिक उपचारका उपकरण रहेको अस्पताल सञ्चालनका लागि मेचीनगर नगरपालिका, मेची उद्योग वाणिज्य सङ्घ र आम्दा नेपालले प्रत्येक महिना दुई लाखका दरले छ महिनासम्म अनुदान दिने वाणिज्य सङ्घका अध्यक्ष विजय डालमियाले जानकारी दिए ।

 

अस्पताल सञ्चालनमा आएपछि मेचीनगर नगरपालिका र वरपरका बाहुनडाँगी, शान्तिनगर, धाइजन, ज्यामिरगढी, दुहागढी गाविससहित दक्षिण इलामको जिर्मले, कोलबुङ गाविसका लाखौँ बासिन्दा लाभान्वित हुने भएका छन् ।
अस्पताल बन्द रहँदा ती क्षेत्रका बासिन्दाले भद्रपुर, बिर्तामोड, धरान, विराटनगर र सिलगुढी उपचारका लागि धाउनुपरेको थियो ।

 

यसै, शैक्षिक सत्रदेखि अस्पतालमा ल्याब सहायक कोर्षसमेत पढाइ हुने अध्यक्ष डालमियाले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us