संविधान नचाहनेले आन्दोलन भड्काएः पौडेल

काठमाण्डु टुडे २०७२ भदौ ३ गते १०:५५ मा प्रकाशित

pradip-paudel
बुटवल, ३ भदौ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले संविधान नचाहनेले आन्दोलन भड्काएको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियन रुपन्देहीले बिहिबार बुटवलमा गरेको पत्रकार भेटघाटमा युवा नेता पौडेलले प्रधानमन्त्री सुशील कोइरालाको अडानकै कारण सीमांकनसहितको संविधान आउन लागेको दावी गरे ।

सीमांकनमा केही त्रुटि रहेको बताउँदै नेता पौडेलले ६ प्रदेशसहितको संघीय संरचनामा केही सुधार गर्नुपर्ने बताए ।

संघीय मुलुकको संविधान सीमांकन बिना सम्भव नहुने भएकाले नेपाली कांग्रेस सीमांकनसहितको संविधान दिन चाहेकाले प्रारम्भिक खाकामा सुझाव दिन आग्रह गर्दै नेता पौडेलले आन्दोलनलाई उग्रता दिने काम राम्रो नभएको बताए ।

नेपाली जनताले संघीयतासहितको संविधान चाहेकाले खाका आउँदाआउँदै उग्र रुपमा विरोध गर्नुभन्दा संयम बनेर सुझाव सल्लाह दिनु उचित हुने उनको धारणा थियो ।

सीमांकनमा चित्त नबुझेकाले त्यसमा फरक मत राख्नु स्वाभाविक नै भएको बताउँदै नेता पौडेलले संविधान नचाहनेले फरक मतलाई उचालेर आन्दोलनलाई भड्काउने काम गरेको टिप्पणी गरे ।

जनताले उठाएका स्वभाविक विषयवस्तुलाई सरकार र संविधानसभाले सम्बोधन गर्नुपर्ने बताउँदै उनले स्वभाविक भन्दा अस्वभाविक कुरा बढी आएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us