निजी क्षेत्रले पनि पुस्तक छाप्न पाउनुपर्ने माग

काठमाण्डु टुडे २०७२ भदौ २ गते १६:०४ मा प्रकाशित

DSC_0837
काठमाण्डु, २ भदौ – नेपाल मुद्रण उद्योग महासंघले सामुदायिक विद्यालयको पाठ्यपुस्तक निजी क्षेत्रलाई समेत छाप्न दिनु पर्ने माग गरेको छ ।

महासंघले बुधवार पत्रकार सम्मेलन गरेर विद्यार्थीलाई समयमै पाठ्यपुस्तक उपलब्ध गराउन निजी क्षेत्रलाई पनि सामेल गराउन माग गरेको हो ।

महासंघले साझा प्रकाशन र जनक शिक्षालाई मात्र छपाइको जिम्मा दिने शिक्षा मन्त्रालयको निर्णयले विद्यार्थीको समयमा पाठ्यपुस्तक पाउने अधिकार कुण्ठित हुने भन्दै यसले मुलुकको सामुदायिक विद्यालयको शिक्षामा नै नकारात्मक असर पार्ने दावी गरेको छ ।

महासंघका अध्यक्ष उदयनरसिंह श्रेष्ठले सरकारले पुस्तक छपाइको जिम्मा निजी क्षेत्रलाई दिएकाले मुद्रण उद्योगमा ५ अर्ब रुपैयाँ भन्दा बढी लगानी भइसकेको बताए ।

उनले सरकारले जनक शिक्षालाई मात्र छपाइ गर्न दिने निर्णयले आफूहरु मारमा पर्ने भन्दै निर्णय सच्याउने माग गरे ।

अध्यक्ष श्रेष्ठले आफूहरुको माग सुनवाई गरेर तत्काल निजी क्षेत्रलाई छपाइको जिम्मा नदिए जनक शिक्षालाई ठप्प पार्ने गरी आन्दोलन गर्ने चेतावनीसमेत दिए ।

महासंघका उपाध्यक्ष रामलाल साहले शिक्षा मन्त्रालयको पछिल्लो निर्णय आर्थिक चलखेलको कारण भएको दावी गरे ।

पत्रकार सम्मेलनमा सहभागी व्यवसायीहरुले निजी क्षेत्रलाई बाईपास गर्दा मुलुकको सार्वजनिक शिक्षामा सुधार आउन नसक्ने दावी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us