आन्दोलनमा दुई–तीन सय मार्ने योजनाको सूचना आएको छः पुन

काठमाण्डु टुडे २०७२ भदौ २ गते १५:५५ मा प्रकाशित
????????????????????????????????????

काठमाण्डु, २ भदौ – एकीकृत नेकपा माओवादीका सचिव वर्षामान पुन अनन्तले आन्दोलनको नाममा दुई तीन सय मार्ने योजना भएको सूचना आफूले पाएको खुलासा गरेका छन् ।

रिपोर्टर्स क्लबले बुधबार गरेको साक्षात्कारमा सचिव पुनले अधिकाका लागि आन्दोलन गरीरहेका जनतमाथि बल प्रयोग गरेर दुई तीन सय मान्छे मार्ने योजना बन्दै गरेको दावी गरे ।

सचिव प्ुनले थारुवान, मगरात, कर्णालीमा संघीयताको सिद्धान्त विपरित सीमांकन भएकोले ति क्षेत्रमा भएको आन्दोलनलाई सम्बोधन गरीने बताए ।

‘कर्णाली स्वायत्त क्षेत्र हुन्छ । मगरात र थारुवानको क्लष्टर मिलाइन्छ ।’ पुनले भने, ‘अखण्ड सुदुरपश्चिमसँग भएको सहमति पुरा भयो तर थारुहटसँग भएको सहमति पुरा भएन । त्यो पनि पुरा गर्नु पर्छ ।’

उनले अहिले जायज माग राखेर आन्दोलन गर्नेहरुसँगै निहुँ खोजेर संविधान जारी हुन नदिने तत्व पनि लागिपरेको आरोप लगाए ।

चार दिनमा संविधानका विवादित विषय टुङगो लगाईने दावी गर्दै नेता पुनले भने, ‘नागरिकतामा कोही पनि विभेदमा नपर्ने गरी सहमति भएको छ । सीमांकनमा सम्झौता हुन्छ । ६ प्रदेशमा सिद्धान्त छ ।’

कार्यक्रममा नेपाली कांग्रेसका नेता रमेश लेखकले तत्काल संविधान जारी गर्न सके स्थायीत्वसहितको लोकतान्त्रिक राजनीतिक पद्धति भित्रने बताए ।
उनले कार्यदलले सबै विषय टुङग्याएर मस्यौदा समितिमा प्रतिवेदन बुझाईसकेको र मस्यौदा समितिले अन्तिम प्रतिवेदन बनाएर संविधानसभामा पेश गर्ने भन्दै भदौ १५ अघि नै आफूहरु संविधान दिने तयारीमा रहेको सुनाए ।

नेता लेखकले नेपालमा एउटै जाती वा भाषाको प्रदेश बन्न असम्भव रहेको भन्दै प्रदेशको विकासका लागि पनि विविधता आवश्यक रहेको बताए । उनले संविधान लेखन प्रक्रियालाई रोक्ने गरी पनि विचारहरु आउन थालेको त्यसतर्फ सजग भएर अघि बढ्नु पर्ने धारणा राखे ।

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले उनले आफू कसरी मुख्य मन्त्री बन्न सकिन्छ भन्ने सिमित क्षेत्रको समस्या समाधान गर्ने सोचबाट नेताहरुले लागेकाले समस्या आएको दावी गरे ।

उनले देशको प्रधानमन्त्री, राष्ट्रपति र मन्त्री बन्छु भन्ने राष्ट्रिय भावना लिएर अघि बढ्नु पर्ने आवश्यकता आंैल्याए ।

मन्त्री पण्डितले भने, ‘अखण्डको संकृण सोचले समस्या ल्याएको हो । कर्णालीलाई विशेष व्यवस्था गर्नुपर्छ । प्राकृतिक स्रोत साधन विना संघीयता संभव छैन ।’
उनले शान्तिपूर्ण आन्दोलन भएपनि सेवा सुचारु गर्दा केही बल प्रयोग हुनु स्वभाविक भएको बताए ।

नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले सीमानाको विषयमात्रै नभई प्रदेशको अधिकार, पहिचान सहितका धेरै विषयका कारण मधेसमा आन्दोलन भएको दावी गरे ।

उनले अघिल्लो संविधानसभाको समिति र आयोगले तयार पारेको प्रतिवेदन अनुसार सीमांकन हुनुपर्ने धारणा राखे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us