जबर्जस्ती बन्द गराउँदै हिँडेका शान्ति समितिका संयोजकसहित १० प्रहरी नियन्त्रणमा

काठमाण्डु टुडे २०७२ भदौ २ गते १०:३८ मा प्रकाशित

hatgadi-270x300झापा, २ भदौ– जबर्जस्ती यातायात बन्द गराउँदै सवारी तोडफोडमा संलग्न भएपछि झापाको बिर्तामोडबाट बुधबार बिहान शान्ति समिति झापाका संयोजक सूर्यनारायण गणेशसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

छ प्रदेशको सीमांकनप्रति असहमति जनाउँदै आह्वान गरिएको बन्दको अवज्ञा गरेको भन्दै सवारी साधन तोडफोड गर्ने १० जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिए । गणेश सद्भावना पार्टीका जिल्ला अध्यक्ष हुन् ।

उनीसँगै सवारी तोडफोडमा संलग्न भएका तराई मधेस लोकतान्त्रिक पार्टी झापाका जिल्ला अध्यक्ष त्रिनारायण राजवंशी, सुन्दरलाल गणेश, सुरेश यादव, गणेश ढुंगाना लगायतलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका सबैलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको प्रनाउ राउतले बताए ।

मधेसी मोर्चा, थारू संघर्ष समिति, कोचिला संघर्ष समितिलगायतका दलले आह्वान गरेको बन्दका कारण पाँच दिनदेखि झापाको जनजीवन प्रभावित भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us