अमेरिकी लगानीकर्तालाई नेपालमा लगानी गर्न कोइरालाको आग्रह

काठमाण्डु टुडे २०७२ भदौ १ गते १७:०२ मा प्रकाशित

sushil koirala

काठमाण्डु, १ भदौ – प्रधानमन्त्री सुशील कोइरालाले नेपाललाई मिलिनियम च्यालेन्ज कर्पोरेसनका कार्यक्रममा चयन गरेको र भूकम्पपछिको पुनःनिर्माणका लागि सहयोगको दह्रो प्रतिबद्धता जनाएकामा अमेरिकी सरकार र जनताप्रति आभार व्यक्त गरेका छन् ।

संयुक्त राज्य अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभको हाउस डेमोक्रेसी पार्टनरसिपका सभापति भर्न बुचाननको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँग मंगलबार बिहान प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको भेटमा उनले नेपाल संघीयता र गणतन्त्रसहितको समावेशी लोकतन्त्रलाई संस्थागत गर्ने प्रजातान्त्रिक संविधान निर्माणको अन्तिम चरणमा पुगेको उल्लेख गरे ।

प्रधानमन्त्री कोइरालाले लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शमा आधारित निर्माणाधीन संविधानमा व्यक्तिका मौलिक हक र मानवअधिकारको पूर्ण प्रत्याभूति हुने बताए ।

उनले नेपाल अब संघीयतामा गएकाले यसका बारेमा कसैले शंका लिनुपर्ने अवस्था नरहेको बताउँदै नेपाली जनताले झन्डै एक शताब्दीको संघर्षबाट हासिल गरेका उपलब्धि र अधिकारबाट अब कोही पनि पछाडि फर्कन नसक्ने स्पष्ट पारे ।

उनले संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको लोकतान्त्रिक संविधान जारी भएपछि नेपालमा दिगो शान्ति र राजनीतिक स्थायित्व कायम हुने भएकाले अमेरिकी लगानीकर्तालाई नेपालमा लगानी गरी नेपालको विकास प्रक्रियालाई साथ दिन आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us