प्रहरी र प्रदर्शनकारीबीच झडप

काठमाण्डु टुडे २०७२ भदौ १ गते १६:५६ मा प्रकाशित

nawalparasi
कपिलवस्तु, १ भदौ – छ दिनदेखि अखण्ड मधेस थरुहट प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच सदरमुकाम तौलिहवामा मंगलबार झडप भएको छ ।

झडपमा छ जना आन्दोलनकारी घाइते भएका छन् । आन्दोलनकारी र प्रहरीबीच एकाएक तनाव सिर्जना भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लठ्ठी प्रहार, एक दर्जन अश्रु ग्यास र गोलीसमेत प्रहार गरेको छ ।

लाठी प्रहारबाट तमलोपाका जिल्ला उपाध्यक्ष धरमबहादुर लाल श्रीवास्तव घाइते भएका छन् । यसैगरी ढुंगा प्रहारबाट संघीय समाजवादी फोरमका जिल्ला नेता अब्दुल रसिंद खाँ घाइते भएका छन् ।

घाइते छ जनाको तौलिहवा अस्पतालमा उपचार भइरहेको छ । प्रहरीको गोली लागी गम्भीर घाइते भएका तीन जनालाई भैरहवा मेडिकल कलेज पठाइएको तौलिहवा अस्पतालका डा. पवनकुमार अग्रहरिले बताए ।

शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको सभासद बृजेशकुमार गुप्ताले आरोप लगाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us