सप्तरी गोलीकाण्डबारे जवाफ दिन गृहमन्त्रीलाई सभामुखको निर्देशन

काठमाण्डु टुडे २०७२ भदौ १ गते १३:५२ मा प्रकाशित

CA meeting  (1)
काठमाण्डु, १ भदौ– सभामुख सुवास नेम्वाङले सप्तरीको भारदहमा सुरक्षाकर्मीको गोली लागि एक जनाको ज्यान गएको विषयमा सदनमा जानकारी दिन गृहमन्त्रीलाई रुलिङ गरेका छन् ।

व्यवस्थापिका संसदको मंगलबारको बैठकमा सभासद्हरुले भारदहमा संघीयतको सीमांकनको विरोधमा भएको प्रदर्शनमा सरकारले दमन गर्दा १ जनाको ज्यान गएको भन्दै सदनमा आवाज उठाएका थिए ।

बैठकमा राप्रपा नेपालका सभासद् गंगाप्रसाद यादवले राज्यले दमनको नीति त्याग गर्नुपर्न भन्दै मृतक राजीव राउतलाई सहिद घोषणा गर्न माग गरे ।

सद्भावनाका लक्ष्मणलाल कर्णले प्रमुख चार दलका शीर्ष चार नेताले देशमा आगो लगाउने काम गरेको भन्दै आलोचना गरे।

उनले चार दलका केही नेताहरुको ठेकेदारीले देशमा आगो लागिरहेको आरोप लगाए । प्रहरीलाई शान्तिपूर्ण प्रर्दशनमा सर्वसाधारणको टाउकोमा गोली प्रहार गर्ने अधिकार कसले दिएको भन्दै प्रश्न गरेका थिए ।

थरुहट तराई पार्टी नेपालका सभासद् गोपाल दहितले कैलालीको धनगढीमा सेट मिलाएर खरदारदेखि प्रहरी प्रमुखसम्ममा सुदुरका मान्छे राखेर थरुहट आन्दोलकर्मीमाथि आक्रमण भएको आरोप लगाए ।

उनले सप्तरीको भारदहमा भएको घटनाको छानविन गरी दोषीमाथि कारबाही गर्न माग गरे ।

संघीय समाजवादी फोरम नेपालका लालवावु राउतले पनि सप्तरीको भारदहमा भएको शान्तिपूर्ण प्रदर्शनमा गोली चलेको घटना लोकतन्त्रमा नसुहाउने घटना भएको टिप्पणी गरे । उनले शान्तिपूर्ण प्रर्दशनमा गोली चलाएर राज्यले नै जनतालाई आतंकित बनाएको आरोप लगाए ।

उनले शान्तिपूर्ण प्रदर्शनमा भएको गोली प्रहारको घटनामा गृहमन्त्रीसँग जवाफ माग्न संसदले रुलिङ गर्नुपर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us