हुँगेली समाजले तीज गीत प्रतियोगिता गर्ने

काठमाण्डु टुडे २०७२ साउन ३२ गते ११:३७ मा प्रकाशित

11880149_10206924353374807_482503904_n
काठमाण्डु, ३२ साउन– मौलिक कला संस्कृति संरक्षणका लागि भन्दै हुँगेली समाज काठमाण्डुले तीज गीत प्रतियोगिता आयोजना गर्ने भएको छ ।

महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर भदौ १३ गते आइतवार गाइजात्राका दिन हुने प्रतियोगितामा काठमाण्डुमा बसोबास गर्ने गुल्मीका तिनवटै निर्वाचन क्षेत्रका गाविस स्तरीय समुहहरुको सहभागिता रहनेछ ।

प्रतियोगितामा प्रथम हुनेलाई २० हजार रुपैयाँ, द्धितिय हुनेलाई १५ हजार रुपैयाँ र तृतिय हुनेलाई १० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने समाजका सचिव रामकृष्ण भण्डारीले जानकारी दिए ।

राजधानीमा बसोबास गर्ने गुल्मेली दिदिवहिनीहरुलाई जमघट गराउने र लुम्बिनी अञ्चलमा प्रचलित परम्परागत तथा मौलिक कला संस्कृतिबारे जागरुक बनाउने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको बताइएको छ ।

प्रतियोगिता सम्पन्न गर्न कोषाध्यक्ष बिष्णुप्रसाद भण्डारीको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा शारदा न्यौपाने र सदस्यहरुमा रोहित सुवेदी, पदमा पल्ली, ताराप्रसाद न्यौपाने, शालिकराम भण्डारी र ध्रुवराज भण्डारी रहेका छन् ।

यसैगरी उपाध्यक्ष देवेन्द्र पौडेलको संयोजकत्वमा गठित समन्वय समितिमा महासचिव नुरापति भण्डारी, शिवलाल पौडेल, शालिकराम सुवेदी, तेजप्रसाद भण्डारी, मन्जु पाण्डे र यमुना भण्डारी लगायत छन् ।

सल्लाहकारमा सभासद चन्द्र भण्डारी, दिलबहादुर थापा, ताराप्रसाद भण्डारी, दुर्गाप्रसाद न्यौपाने र हर्क थापा रहेका छन् ।
प्रतियोगिता बुद्धनगर पार्टी प्यालेसमा बिहान ११ देखि साँझ ५ बजेसम्म हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us