यसरी भए फुटपाथमा लुगा सिउने दर्जी दाजुभाई केही समयमै करोडपति !

काठमाण्डु टुडे २०७२ साउन ३१ गते १७:५३ मा प्रकाशित

tailor
भीमदत्तनगर, ३१ साउन-चालीसको दशकमा कञ्चनपुरको भीमदत्तनगर बजारमा दीपक दर्जीका दाजुभाइ दुईवटा मेसिनको सहारामा फड्कामा सिलाइको काम गर्थे ।

 

वि.सं २०३४ मा पुख्र्यौली घर बझाङको कँडेल गाविसबाट तराई झरेका दर्जी परिवारका जेठा भाइ हरिभक्त सुरुमा भारतीय सीमावर्ती बजारबाट कपडा किनेर बझाङमा हुने विभिन्न पर्वमा लुगा सिलाइदिने काम गर्थे । उनीहरुले भीमदत्तनगर बजारका गल्ली छेउ ९फड्० मा बसेर दिनभरि कपडा सिलाउने काम गरे ।

 

‘सुरुमा म क्याम्पस पढ्दा दुईजना दाजु फडकामा बसेर सिलाइको काम गर्थे,’ हाल भीमदत्तनगरपालिका–१८ कटानमा घरजम गरी बसेका दीपक दर्जीले भने, ‘त्यो फड्को परिश्रमले हामी फस्टाउँदै गयौँ ।’

 

‘सुरुमा ६ जना दाजुभाइ नै यो पुख्र्यौली पेसामा थियौ,’ दीपकले भने, ‘एउटा भाइ बित्नु भयो, अर्को अपाङ्ग हुनुभयो ।’ फड्बाटै फड्को मारेका दर्जी दाजुभाइ अहिले महलका मालिक भएका छन् ।

 

वि.सं २०५१ सालमा भीमदत्तनगरस्थित मदन चोकमा मोर्डन तयारी पोसाक उद्योग स्थापना गरेका उनीहरुले अहिले करोडौँको सम्पत्ति आर्जन गरिसकेका छन् । ‘फड्बाट पसलमा गएर कपडासहित बेच्न थाल्यौँ,’ उनले भने, ‘अहिले व्यापार फस्टाउँदै गएको छ ।’

 

वि.सं २०५१ पछि २०६८ सालमा धनगढीमा पनि मोर्डन तयारी पोसाक उद्योगको शाखा विस्तार भयो । अहिले धनगढी र भीमदत्तनगरमा गरी मासिक पाँच लाख जतिको सटिङरसुटिङको कारोबार भइरहेको दीपकले बताए ।

 

धनगढी र भीमदत्तनगरमा सिलाइ उद्योगमा ४२ मजदुरलाई काम दिइरहेको बताउँदै उनले आफूपछिको पुस्ता पनि उक्त पेसामा लागिसकेको जानकारी दिए । ‘यो व्यापारबाटै हामीले धनगढीमा दुई करोड ५० लाखको घर किन्यौँ, उनले भने, ‘यहाँ पनि परिवारको गुजारा राम्रै भएको छ ।’

 

दीपकका ६ दाजुभाइको ५४ जनाको परिवार सगोलमै बसेका छन् । ‘सबै दाजुभाइ मिलेरै काम गरिरहेका छौँ, उनले भने, ‘मिलेर काम गरेकाले राम्रै भएको छ ।’ वि.सं २०६९ मा उनीहरुले एक करोडको लगानीमा आफ्नै घरमा ‘सुटगढी धनगढी’ तयारी पोसाक उद्योगसमेत सञ्चालनमा ल्याएका छन् ।

 

धनगढी र भीमदत्तनगरमा गरी तीन ठाउँमा उद्योग सञ्चालनमा रहेका छन् । भीमदत्तनगर र धनगढीमा दुईवटा उद्योग अझै भाडाको घरमै सञ्चालित छन् । ‘चार वर्षअघि धनगढीमा घर किनेर सुटगढी सञ्चालन गरेका हौँ, उनले भने ।

 

दर्जी दाजुभाइले सुरुमा दुईवटा मेसिन खरिद गर्न महिनौँ मिहेनत गरेका थिए । ‘निरन्तरको मिहेनत र इमान्दारिताले सफलता दिलाउँदो रहेछ,’ उनले विगत सम्झिँदै भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us